
नेपालगन्ज, २३ भाद्र – नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव डिल्लीबहादुर गिरीको दुई ठाउँबाट क्रियाशील सदस्यताको नामावली सिफारिस भएको पाइएको छ । गिरीको राप्ती सोनारी वडा नम्बर २ र राप्तीसोनारी वडा नम्बर ८ बाट क्रियाशील सदस्यताका लागि नामावली सिफारिस भएको हो ।
बाँकेमा क्रियाशील सदस्यता विवादका कारण नेपाली कांग्रेसको १४औं महाधिवेशन पर सरेको थियो । क्षेत्र नम्बर १ मा क्रियाशील सदस्यताबारे विवादमा आएको थियो । त्यसबीच क्षेत्रीय सचिव जस्तो नेताको दुई ठाउँमा क्रियाशील सदस्यताको लागि नाम सिफारिस हुँदा पार्टीलाई सही दिशा तर्फ डोर्याउने जिम्मेवारी पाएकाले नै पार्टीलाई बदनाम गर्न खोजेको आरोप कार्यकर्ताले लगाएका छन् ।
गिरीले केही समय अघि एक पत्रिकालाई अन्तर्वार्ता दिँदै क्षेत्रीय सभापति माधवराम खत्रीको उपस्थिति र निर्देशनमा आफू अनुकूलका मान्छेको नामावली सिफारिस गरेको आरोप लगाइरहँदा क्षेत्रीय सचिवको नै दुई ठाउँबाट नाम सिफारिस हुँदा भने क्रियाशील सदस्यतामा सिफारिस नभएका कार्यकर्ता रुष्ट बनेका छन् । ‘पार्टीभित्रको कुरा, केही चित्त नबुझेको भए सरसल्लाह गरेर समाधानको उपाय रोज्नुको साटो मिडियामा आएर पार्टीलाई नै बद्नाम गराउन खोजियो,’ एक कार्यकर्ताले भने ।
सचिव गिरीले केन्द्रमा क्रियाशील सदस्यताको काम गर्ने सचिवालय नै संस्थापन नेताकार्यकर्ताको पक्षमा रहेको आरोप लगाइरहँदा के नेपाली कांग्रेसमा क्रियाशील सदस्य हुन पहुँचवाला हुनै पर्छ भन्ने प्रश्न समेत आम पार्टीसम्बद्ध साधारण सदस्यमा प्रश्न उब्जिएको छ ।
सचिव गिरीले नियतवश आफ्नो क्रियाशील सदस्यता छुटाएको पनि आरोप लगाएका छन् । यस विषयमा कुरा गर्दा गिरीले आफ्नो क्रियाशील सदस्यताको टुङ्गो लागेको बताए । उनले विवाद समाधान नभए पनि केन्द्रस्तरका नेतागणबाट नीतिगत रुपमा निर्णय गर्न खोजेको जानकारी दिए ।
