
नेपालगन्ज, २१ भाद्र – नेपालगन्ज शहरका विभिन्न स्थानमा जडान भएका सिसि क्यामराको व्यवस्थापनका लागि बाँके प्रशासनको ध्यानाकर्षण गराइएको छ । शहरभित्र हुने विभिन्न अपराधिक क्रियाकलापको नियन्त्रण, चोरी शिकारी, सडक दुर्घटना जस्ता घटनाको जानकारीका लागि सिसि क्यामराको महत्वपुर्ण भुमिका रहेकोले सोको व्यवस्थापन गर्न ज्ञापन पत्र बुझाइएको हो ।
नगरका अधिकांस सिसि क्यामरा विग्रिएको अवस्थामा दुर्घटना बढ्ने र दोषीको पहिचान नखुल्ने भएकाले बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले सोको मर्मत सम्भार गरि सञ्चालन गर्न सरोकारवालाको ध्यानाकर्षण गराइएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी नेतृत्वको समुहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई उक्त ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी विष्टले नगरमा जडान भएको सिसि क्यामराको मर्मत सम्भारको कार्य गर्नुपर्ने देखिएकाले तत्काल पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्र अन्तर्गत बजारमा विभिन्न सरकारी तथा गैरसरकारी र निजी उद्योगी व्यवसायीहरुको सहयोगमा लाखौ रुपैयामा सिसि क्यामरा जडान गरिएको थियो । त्यसको व्यवस्थापनको जिम्मा भनेर जिल्ला प्रहरी कार्यालयमा सचिवालय राखिएको छ । तर त्यसको खासै प्रभावकारिता देखिंदैन । अहिले अधिकांस सिसि क्यामरा विग्रिएका छन् । त्यसको बारेमा सरोकारवाला निकायको ध्यान गएको छैन ।
स्मरणहोस केही दिन अघि मात्र त्रिभुवन चौक आसपासमा तीन बर्षिय बालिकालाई मोटरसाइकलले ठक्कर दिई ति बालिकाको घटनास्थलमा मृत्यु भयो तर ठक्कर दिने मोटरसाइकल फरार भएको र अहिलेसम्म पनि पक्राउ पर्न नसकेको अवस्था रहेको छ । यदि सि.सि क्यामराको व्यवस्थापन भएको भए, त्यो घटनाको दोषी पकाउ पर्थै । यसप्रति सरोकारवाला निकायको ध्यान केन्द्रीत गराइएको हो ।
