
नेपालगन्ज, २१ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा रहेको महेन्द्र माविको नाममा कारकाँदौमा रहेको जमिन अतिक्रमण गरी भू–माफियाहरुले सार्वजनिक बाटो निर्माण गरेका छन् । सर्वसाधारणलाई हिँड्ने सार्वजनिक बाटो निर्माण हुनुपर्छ तर यस कार्यको लागि कसैको पनि जमिन अतिक्रमण गर्नु हुँदैन ।
बाटो निर्माण गराउनेहरुले महेन्द्र माविका सम्बन्धितहरुबाट सहमति गर्नु पथ्र्याे तर टोल विकास समिति फर्जी नामले खडा गरी भू–माफियाहरुले विद्यालयको जमिन अतिक्रमण गरी ग्रेभिल बाटो निर्माण गरेका छन् ।
यस्तो कार्य भू–माफियाले विगतमा कैयन पटक गरी सकेका छन् । यस समयमा विद्यालयका सम्बन्धितहरु आफ्नो जमिनमा तयार पारिएको ग्रेभल फाल्नेसम्म कार्य गरे तर हरेक पटक भू–माफियाहरुले कहिले यो कार्य प्रदेश सरकारको बजेटबाट कहिले १८ नं. वडा समिति कार्यालय तर्फबाट निर्माण भएको झूठो दावीहरु गर्दै आएका छन् ।

फाईल फोटो
अहिले त हद भयो केही दिन अघि विद्यालयका सम्बन्धितहरु जमिनमा पुग्दा ति भू–माफियाहरुले आफ्नो वास्तविक नाम नबताई फर्जी नाम बताएर विभिन्न डरत्रास धम्की समेत दिए । यस्ता कुराबाट के बुझिन्छ भने यहाँ विधिको शासन छैन जसले पनि धाक धम्की देखाई अवैधानिक कार्य गर्न सक्छ यो कुरा अहिले प्रमाणित भई रहेको छ । महेन्द्र माविको जमिन सरकारी हो यस कारण स्थानीय सरकार र स्थानीय प्रशासनले यसको संरक्षण संवद्र्धन गर्नु पथ्र्याे तर भएको छैन यो चाहिँ दुःखको कुरा हो ।
यो जमिन कसैको व्यक्तिगत हुन्थ्यो भने सोच्नुस् कस्तो स्थिति हुन्थ्यो होला । यहाँ जमिन सरकारी छ यस कारण महेन्द्र माविका सम्बन्धितहरुले यसलाई संवेदनशीलताले नलिएको बुझिन्छ । जुन दिन उनी विद्यालयको जमिन मुक्त गराउन संवेदनशील बन्छन् भने केही दिनमै जमिन अतिक्रमणबाट मुक्त हुन्छ ।
विद्यालयका सम्बन्धितहरुले जमिनबाट अतिक्रमण हटाउने प्रयास पक्कै पनि गरेका छन् तर उनीहरुले सरकारी जमिन हो स्थानीय सरकार, स्थानीय प्रशासनको दबावमा अतिक्रमण हट्ने धोको लिएका छन् ।
बाँके जिल्लामा भू–माफियाहरुको ठूलो चलखेल छ यस्ता भू–माफियाहरु कसैको जमिन कब्जा गर्न चुकी रहेका छैनन् । २०२५ देखि अहिलेसम्म अनेकौंहरुको जमिन खेत र जमिन भू–माफियाहरुबाट कब्जा भई ति भू–माफियाहरुले आ–आफ्नो नाममा लालपुर्जा समेत प्राप्त गरी सकेका छन् ।
विगतमा नापी कार्य हुँदा अनेकौंहरुले आफ्नो जग्गा नापी गराउन पुगेनन् यस समयमा भू–माफियाहरु अर्काको जमिन आफ्नो नाममा नापी गराई लालपुर्जा समेत प्राप्त गरी सकेको देखिन्छ । उदाहरणको रुपमा बागेश्वरीमन्दिरको सुर्जीगाउँ, करमोहना, सल्यानीबाग, कारकाँदौ लगायतमा रहेको जमिनलाई लिन सकिन्छ ।
यो जमिनको खोजतलाश गर्ने कार्य विगत वर्षमा शुरु भयो पछि विरोधले गर्दा रुक्यो ।
नेपालगन्जमा कैयन मठ, मन्दिरसम्म अतिक्रमण भई व्यक्तिको नाममा लालपुर्जा बनी सकेको छ । यसको कैयन उदाहरणहरु छन् यस कारण करीब ५० वर्ष पहिलेदेखि आजसम्म भएको गल्तीलाई सुधार्न सरकारले नयाँ नापी ल्याई अहिले लालपुर्जा प्राप्त गरेका व्यक्ति पहिले कोसँग जमिन खरीद गरे र लालपुर्जा बनाए यो बुझ्न नयाँ नापी बाँके जिल्लामा ल्याउनुपर्ने जरुरी छ । जहाँसम्म महेन्द्र माविको जमिन अतिक्रमणबारे कुरा छ यो घटना कुनै पुरानो होइन यो जमिन २०७४ सालदेखि अतिक्रमण भई त्यहाँ सार्वजनिक बाटो निर्माण गर्ने प्रयास पटक–पटक भू–माफियाहरुबाट हुँदै आएको छ ।
यस कारण भू–माफियाको मनोबल घटाउन पनि सम्बन्धितहरुले विद्यालयको जमिन अतिक्रमण मुक्त बनाउनु पर्ने जरुरी छ ।
