
खजुरा, २ भाद्र – खजुरा गाउँपालिकामा मानव वेचविखन नियन्त्रणका लागि वार्षिक कार्ययोजना निर्माण गरिएको छ । हाम्रो सम्मान परियोजना अन्तर्गत माइती नेपालको सहजीकरणमा स्थानीय मानव बेचविखन नियन्त्रण पालिका र वडास्तरीय समितिमा आवद्धहरुले वार्षिक कार्ययोजना
बनाएका हुन ।
मानव वेचविखन ओसारपसार नियन्त्रण स्थानीय समिति खजुरा गाउँपालिकाको आयोजनामा २ दिने बार्षिक समीक्षा र योजना बैठक पछि बुधबार कार्ययोजना बनाइएको हो । गाउँपालिका स्तरीय र वडास्तरीय छुट्टाछ्ट्टै कार्ययोजना निर्माण गरी प्रस्तुतीकरण गरिएको छ ।
नियमित बैठक, तथ्यांक संकलन, वडास्तरीय मानव वेचविखन समिति गठन, पुनः गठित समिति र सरोकारवालासँग अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन, पीडित व्यक्तिको उद्दार पुनःस्थापना तथा राहतका कार्यक्रम सञ्चालन गर्ने, सचेतनामुलक कार्यक्रम सञ्चालन, जोखिममा परेकालाई परामर्श दिइने, स्रोत नक्साकंन पुस्तिका प्रकाशन गर्ने, बेचविखन नियन्त्रणबारे माविस्तरीय निवन्धन प्रतियोगिता लगायतका कार्ययोजना बनाइएको छ ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार भएकाले मानव वेचविखन नियन्त्रणमा स्थानीय सरकारको
महत्वपूर्ण भूमिका हुने बताए । मानव वेचविखनको मूख्य कारण गरिबी भएकोले शिक्षा, बेरोजगारी समस्या समाधान गरी गरिबी निवारणबाट मानव वेचविखनमा कमी ल्याउनेमा उनले जोड दिए ।
पालिका र वडामा समिति निर्माण भएकोले कार्ययोजनामा टेकेर समन्वयबाट काम गर्नु पर्नेमा अध्यक्ष कक्षपतिको जोड थियो । कार्यक्रममा उपाध्यक्ष एकमाया विकले मानवीय चेतना भएन भने वेचविखन हुन सक्ने भन्दै पहिलो प्राथमिकता चेतना वृद्धि गर्ने हुनु पर्ने बताइन । उनले आफ्नो पालिकामा कोही पनि मानव बेचविखनमा पर्न नदिन खजुराको ध्यान जानु पर्ने भन्दै वडा र पालिकामा निर्माण भएका समितिको समन्वयमा काम प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिइन ।
रोजगारी र सीप मुलुक कार्यक्रम मार्फत रोकथाममा टेवा पुग्ने उनको विश्वास थियो । २ दिने कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला र वीनरक इन्टरनेशनलका फिल्ड संयोजक कमला पन्तले सहजीकरण गरेका थिए ।
