नेपालगन्ज, १९ श्रावण– नेपालगन्ज उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नौ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण देखिएकाहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख, वडा सचिव, आईटी ईन्जिनियर, कम्प्युटर अपरेटर, कर्मचारी, जग्गा व्यवसायी र पसले छन ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार तीन जनामा स्वास्थ्य समस्या देखिएको छ । उनीहरू सबैलाई आईशोलेसनमा राखिएको छ ।
त्यसैगरी, कोरोना संक्रमणपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन् । सोमवार बिहान कोरोना संक्रमण पुष्टि भएपछि रिजाललाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारका लागि राखिएको छ ।
नेपालगन्ज उपमहानगरका प्रवक्तासमेत रहेका वडाध्यक्ष रिजालले फेसबुकमा सन्देश दिँदै लेखेका छन् ‘वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति २०७७ साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो ।’
उनले ‘हाल खजुरास्थित कोरोना बिशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।’ सोमवार वडाध्यक्ष रिजालसहित नेपालगन्ज उपमहानगरपालिकाका एकजना अधिकृतलाई संक्रमण भएको छ ।