
प्रहलाद विश्वकर्मा
नरैनापुर, १० श्रावण – नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा प्रारम्भिक द्रुत लेखाजोखा तालिम आईतवार नरैनापुर गाउँपालिकामा सम्पन्न भएको छ ।
ग्ल्ँएब् को सहयोगमा नेरेसो केन्द्रमार्फत यस जिल्लामा सञ्चालन भएको कार्यक्रमबाट बाढी विपद् प्रभावित समुदायको यर्थात विवरण संकलन गर्न स्थानीय तह, नेपाल प्रहरी र स्थानीय रेडक्रसका स्वयंसेवकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको थियो ।
उक्त तालिममा विपद् लेखाजोखा मार्गदर्शन २०७२, प्रारम्भिक द्रुत लेखाजोखा, विस्तृत घरधुरी सर्वेक्षण र विपद् व्यवस्थापन सम्बन्धी बनेका ऐन कानुनको बारेमा जानकारी गराइएको थियो ।
तालिममा नरैनापुर गाउँपालिका वडा नं. १ देखि ६ सम्मका वडा सचिव, ती वडामा रहेका नेपाल प्रहरीका प्रतिनिधि, शसस्त्र प्रहरीका प्रतिनिधि र नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखाका स्वयंसेवकहरु गरी २८ जनाको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, कार्यालय प्रमुख दोलखबहादुर डाँगी, वडा अध्यक्ष मकसुद अहमद शाह, नि.कार्यकारी प्रमुख विजयकुमार यादव, नेरेसो गंगापुर उपशाखाका सभापति शालिकराम साहु लगायतले विचार व्यक्त गर्नु भएको थियो भने तालिमको सहजीकरण आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, नेरेसो बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नु भएको थियो ।
