Sunday, April 26सत्यम खबर
Shadow

राप्तीसोनारीको ८२ करोड ३८ लाख बजेट सर्वसम्मत पारित

राप्तीसोनारी, २९ अषाढ – राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ८२ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ । राप्ती सोनारी गाउँपालिका कार्यालयमा आज सोमबार सम्पन्न भएको नवौं गाउँसभा तथा बजेट अधिवेशनले सो बजेट सर्वसम्मत रुपले पारित गरेको छ ।
गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गर्नु भएको उक्त बजेटलाई सभामा उपस्थित भएका सम्पूर्ण सदस्यहरुले हात उठाएर पारित गरेका छन् ।


गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम भने यसअघि नै सर्वसम्मत रुपमा पारित भएको थियो । गाउँपालिकाको असार १० गतेबाट नवौं गाउँसभा सुरु भएको थियो । उक्त सभामा उपाध्यक्ष खत्रीले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएकोमा लामो छलफल तथा अध्ययन पश्चात आज सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिनुभयो ।
संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट गरी बजेट विनियोजन गरिएको छ । संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, शर्सत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानमार्फत गाउँपालिकाले ९ वटै वडामा बजेट विनियोजन गरेको छ ।
जस अनुसार वडा नम्बर १ र २ मा २÷२ करोड, वडा नम्बर ३, ४, ६, ८ र ९ मा १ करोड ७५ लाखका दरले, वडा नम्बर ५ र ७ मा १ करोड ८० लाख का दरले बजेट विनियोजन गरिएको छ ।
वडा स्तरमा विनियोजन गरिएको उक्त बजेट र योजना तथा कार्यक्रम बारे आजको सभामा वडा नम्बर १ का वडाध्यक्ष चन्द्रबहादुर ओली, वडा नम्बर २ का वडाध्यक्ष मदनकुमार ओली, वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडाध्यक्ष कान्छा थारु, वडा नम्बर ५ का वडाध्यक्ष झगरु थारु, वडा नम्बर ६ का वडाध्यक्ष जनकबहादुर थारु, वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारु, वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेत र वडा नम्बर ९ का वडाध्यक्ष महाबीर ओलीले आ–आफ्नो वडाको बजेट प्रस्तुत गर्नु भएको थियो ।
यस्तै गाउँपालिका अध्यक्ष थारु र उपाध्यक्ष खत्रीको क्षेत्राधिकारतर्फको बजेट पनि प्रस्तुत गरिएको थियो ।


गाउँपालिकाले आगामी वर्षका लागि सामाजिक विकास शाखा, शिक्षा, स्वास्थ्य लगायतका लागि ७ करोड ११ लाख ६६ हजार ९ सय रुपैयाँ, आर्थिक विकास शाखा, कृषि पशु लगायतका लागि ८० लाख, पुर्वाधार विकासमा ९ करोड ३२ लाख ३७ हजार ४ सय ५१, वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड, संस्थागत विकास सेवा प्रवाहमा १५ लाख बजेट विनियोजन गरेको छ । गुणस्तरिय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न शिक्षाका समग्र कार्यक्रमहरु सञ्चालन गर्न कुल २८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका क्षेत्रभित्र पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलाई उच्च प्राथमिकता दिएर समावेश गरिएको छ ।
सभामा बजेट तथा गाउँपालिकाको समग्र विकास बारे वडाअध्यक्ष तथा सभाका सदस्यहरु चन्द्रबहादुर ओली, रामलखन थारु, जनकबहादुर थारु, झगरु थारु, गंगाराम थारु, कान्छा थारु तथा कार्यपालिका सदस्य तथा सभाका सदस्य मिनाकुमारी विष्ट, वडा सदस्य एवम् गाउँसभाका सदस्य रुद्रमणि ढकाल, टिकाराम बस्नेत, रति ओली लगायतले धारणा तथा सुझाव दिनु भएको थियो ।
सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले आर्थिक वर्ष २०७८÷०७९ आफुहरुले जनताको काम गर्ने अन्तिम वर्ष भएकाले समय मै बजेट कार्यान्वयनमा लाग्न सबै जनप्रतिनिधी तथा कर्मचारीलाई अनुरोध गर्नुभयो । बजेट कार्यान्वयन गर्नमा कर्मचारीको भुमिका महत्वपुर्ण हुने भएकाले जनप्रतिनिधीलाई सघाउन कर्मचारीलाई निर्देशन पनि दिनुभयो । गाउँपालिकाको समग्र विकासका लागि आफुहरुले काम गर्दै आएको र आगामी आर्थिक वर्षमा परिणाममुखी काम गरेर देखाउनु पर्ने धारणा राख्नुभयो ।
गाउँपालिका उपाध्यक्ष खत्रीले गाउँपालिकाको सबै वडालाई समेटेर बजेट ल्याएको बताउनु भयो । बजेटले राप्तीसोनारीको पुर्वाधार विकासका साथै विभिन्न क्षेत्र तथा वर्गलाई सम्बोधन गरेको उहाँको भनाई छ ।
गाउँसभामा यसअघि पेश गरिएको राप्तीसोनारी गाउँपालिकालाई टुक्र्याउने सम्बन्धी प्रस्तावलाई अहिले तत्कालका लागि सूचीबाट हटाइएको सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष थारुले सभाका सदस्यहरुलाई जानकारी दिनुभयो । ‘अहिले बजेटका विषयमा मात्रै केन्द्रित रहनुपर्ने गाउँसभा हो, गाउँपालिका टुक्र्याउने सम्बन्धी प्रस्तावका विषयमा अर्को हिउँदे सभामा ब्यापक रुपले छलफल गर्नेछौं,’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *