
खजुरा, ७ अषाढ – अषाढ महिना लागेपछि नेपाल सरकारको कार्य प्रगति अनुसार देशभरका सम्पूर्ण निकायहरुले आ–आफ्नो निकायमा हुने र गरिने कार्यहरुको प्रगति विवरण बुझाउने गर्दछन् । सोही अनुसार आउने आ.व.मा आर्थिक बजेट विनियोजन समेत गर्ने गर्दछन् ।
हाल कोभिड–१९ को चपेटाले पूर्वाधार निर्माणदेखि अन्य क्षेत्रमा समेत यसको असर परेको छैन् भन्न मिल्दैन । तर पनि स्थानीय स्तरमा निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय स्तरबाट हुने पूर्वाधार निर्माण कार्य गरिरहेको पाईन्छ ।
सोही अनुसार बाँकेको खजुरा गाउँपालिकाले ८ वटै पालिकाभन्दा अलि फरक तवरले कार्य गरेको र गरिरहेको तथ्यांकले देखाईरहेको छ । आर्थिक वर्ष अन्तिम अवस्थामा पुगिसक्दा खजुरा गाउँपालिकाले ९० प्रतिशत बजेट खर्च गरिसकेको खजुरा गाउँपालिका लेखाअधिकृत प्रदीप सुनारले बताउनुभयो ।
प्रदीप सुनारका अनुसार आ.व. ०७७÷०७८ मा खजुरा गा.पा.को कुल बजेट ८८ करोड २० लाख ३ हजार ७ सय ७६ रुपैयाँ ७५ पैसा रहेको थियो । जसमध्ये हाल ज्येष्ठ मसान्तसम्म ५२ करोड १८ लाख ९ हजार ७ सय ४९ रुपैयाँ खर्चिएको अवस्था रहेको छ जुन कुल बजेटको करीब ६० प्रतिशत हो भने अषाढ मसान्तसम्म सम्पन्न हुने योजनाहरुको भुक्तानी गर्दा त्यो करीब ९० प्रतिशत पुग्ने बताउनुभयो ।
सोही अनुसार खजुरा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिकामा रहेका १ हजार ५ सय ३१ जनाले वेरोजगार फारम भरेका छन् । जस मध्ये सोही कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिकाका २ सय ४६ जनालाई रोजगार उपलब्ध गराई आर्थिक अवस्था सुधार गरिएको खजुरा गा.पा.का रोजगार संयोजक प्रतिक्षा न्यौपानेले बताउनुभयो ।
रोजगार संयोजक न्यौपानेका अनुसार हाल खजुरा गाउँपालिका भित्र १३ वटा आयोजनाहरु जारी रहेका छन् । जस अनुसार २ सय ४६ जनालाई रोजगार दिईएको बताउनुभयो । जसमा १ सय ४१ महिला र १ सय ५ पुरुष गरी २ सय ४६ जना रहेका छन् ।
संयोजक न्यौपानेको भनाई अनुसार हाल जारी रहेको आयोजनामा पक्की बाटोमा दुईतर्फ माटो पटान, राधापुर–१ मा २३ दिन, शिव मन्दिर घियादेखि दंगालीपुर जाने बाटोको नयाँबाट निर्माण आयोजना चमकदारपुर–८ घियामा ३० दिन, तल्लो लुन्द्री महादेव थापाको घरदेखि पूर्वतर्फ मानबहादुर खत्रीको घरसम्म नयाँ सडक मर्मत तथा माटोपटान, लुन्द्री–७ सोनपुरमा ६५ दिन, खानेपानीको पाईपलाईन विस्तार आयोजना खजुरा–४ ईगाउँमा १०० दिन, पूर्व मानबहादुर खत्रीको घरसम्म नयाँ बाटो निर्माण तथा खानेपानीको पाईपलाईन विस्तार, उढरापुर, सिमलघारी–६ मा १०० दिन, वडा नं. ७ अन्तर्गतका सडक मर्मत सम्भार आयोजना सोनपुर–७, सडक मर्मत सम्भाव गर्न तथा सुशिल कोईराला क्यान्सर अस्पतालमा १०० दिन गरी वेरोजगारहरुलाई रोजगार गाउँपालिकामार्फत प्रदान गरिएको बताउनुभयो ।
त्यसैगरी वडा नं. ५ उढरापुर स्वास्थ्य चौकीको फिल्ड मर्मत तथा वडा नं. ५ अन्तर्गतका सडक मर्मत सम्भार खजुरा–३ मा १०० दिन, बुद्धपुर खजुरा–४ मा सडक मर्मत सम्भारमा १०० दिन, ग्रामीण खानेपानी, कुलो खोदाई गरि कुलो निर्माण तथा सडक मर्मत सम्भार उढरापुर–६, गिजरामा १०० दिन, रनियापुरदेखि दहवा जाने बाटो सडक मर्मत सम्भार आयोजना चमकदारपुर–८ मा १०० दिन, फोहोर व्यवस्थापन तथा सरसफाई योजना सितापुर–२ मा १०० दिन र राधापुर–१ मा सडक मर्मत सम्भावना आयोजना अन्तर्गत १०० दिन गरी १५ सय ३१ जना मध्ये २ सय ४६ जनालाई १०० दिनको रोजगारी दिईएको रोजगार संयोजक न्यौपानेले बताउनुभयो ।
रोजगार संयोजक न्यौपानेका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ करोड १३ लाख ६७ हजार बजेट छुट्टाईएको थियो । जसमध्ये ६० लाख ८ हजार ३ सय रुपैयाँ रोजगार श्रममा खर्च गरि सकेको छ भने हाल अषाढ मसान्तसम्म थप खर्च गरी रोजगार कार्यक्रम अन्तर्गत कुल बजेटको ८० प्रतिशत कार्य प्रगति हुने बताउनुभयो ।
रोजगार कार्यक्रम अन्तर्गत कार्य गरेका मध्ये गंगापुर वि.क.का अनुसार गाउँपालिकाबाट दिईएको कामले मैले ३ महिना काम पाए । त्यसबाट थोरै भएपनि घरको समस्याहरु समाधान गर्न सहयोग गरेको बताउँदै भन्नुभयो– ‘गाउँपालिकाले आउने बजेटमा हामी जस्तो वेरोजगार महिलाहरुको लागि थप रोजगारको श्रृजना गर्न सक्ने योजना ल्याउन आवश्यक रहेको बताउनुभयो ।’
यसैगरी श्रमजिवि गणेश सुनारले रोजगार पाएको प्रति खुशी व्यक्त गर्दै भन्नुभयो– ‘गाउँपालिकाले हाल गरिरहेको विकास निर्माणका कार्यहरुमा वेरोजगारहरुलाई रोजगार दिएर सहयोग गरिरहेको छ । आउने दिनमा ३ महिना मात्र नभई अझ समय बढाउनुपर्ने बताउनुभयो ।’
यसगरी श्रमजिवि गोपाल नेपालीको भनाई अनुसार गाउँपालिकाले काम त दियो तर ३ महिना काम गरेर बाँकी ९ महिना पुनः वेरोजगार भई बस्नुपर्ने अवस्था रहेको छ । हामी जस्तो वेरोजगारहरुका लागि गाउँपालिकाले निरन्तरता दिंदै वर्षभरी नै काम गर्ने रोजगारको वातावरण श्रृजना गर्न सक्नुपर्नेछ । उक्त रोजगारबाट घरपरिवारको हाल थोरै भएपनि खर्च टार्न सकिएको श्रमिक नेपालीले बताउनुभयो ।
खासगरी खजुरा गाउँपालिकाको जीविकोपार्जनको अवस्था पालिकाको प्रोफाईल २०७६ अनुसार भन्ने हो भने आम्दानीका मुख्य श्रोतहरुमा गाउँपालिकामा रहेका कुल १०,६७१ घरपरिवारहरु मध्ये ६ हजार १ सय १४ घरपरिवारहरुको आम्दानीको श्रोत कृषि, पशुपालन, माछापालन, मौरीपालन रहेको छ । भने दोस्रोमा वैदेशिक विप्रेषणबाट आम्दानी गर्ने ३ हजार ३ सय ८, दैनिक ज्यालादारीबाट २ हजार २ सय ४३, नोकरीबाट १ हजार ९ सय ४४ घरपरिवारहरु रहेका छन् । त्यसैगरी १ हजार १ सय ७२ घरपरिवारको आम्दानीको श्रोत भने व्यापार व्यवसाय र ६ सय ३६ घरपरिवारको पेन्सन रहेको देखिन्छ ।


