Friday, November 22सत्यम खबर
Shadow

खजुरा विकास निर्माणमा अगाडी

खजुरा, २८ जेष्ठ – बाँके जिल्लाको ८ वटै पालिकाहरु मध्ये खजुरा गाउँपालिका विकास निर्माण कार्यमा अगाडी रहेको छ । खजुरा गाउँपालिका विकासको गति अन्य पालिकाहरुको तुलनामा अगाडी रहेको हाल खजुरा गाउँपालिकामा भए गरेका निर्माण कार्यहरुले देखाईरहेको पाईन्छ ।
विगत वर्षमा कृषि र खेलकूदमा अगाडी रहेको खजुरा गाउँपालिका स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएदेखि अन्य क्षेत्रमा समेत अग्रसरता हासिल गर्न सफल भएको पाईन्छ । कोरोना कालमा समेत अन्य क्षेत्रका कोरोना संक्रमितहरुलाई खजुरामा उपचार सेवा उपलब्ध गराई देशभर नाम कमाएको खजुरा कदापि त्यत्तिकै अव्वल हुन सफल भएको होईन । त्यहाँ रहेका सर्वसाधारणहरुसित निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय स्तरमा कार्य गर्दा गरिएको चर्चा नै खजुरा गाउँपालिकालाई बाँकेको विकास निर्माण कार्यदेखि अन्य क्षेत्रमा अव्वल बनाएको पाईन्छ ।
खजुरा गाउँपालिकाले नेपाल सरकारद्वारा लगाईएको लकडाउनको बेला समेत स्वास्थ्य, कृषि तथा अन्य क्षेत्रमा समग्र जिल्लाको मात्रै नभएर देशकै उदाहरणिय कार्य गर्दै आएको देखिन्छ । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा समेत खजुराले उल्लेख कार्य गरेको खजुरा गाउँपालिका अध्यक्ष किष्मत कक्षपतिले बताउनुभयो ।


हाल खजुरा गाउँपालिकामा सडक निर्माण, सडकको स्तर उन्नति, मर्मत तथा नाली निर्माण जस्ता कार्यमा उल्लेख्य कार्य गर्दै आएको खजुराका अधिकाश दुर दराजका सडकहरुले मुहार फेर्दै गएका छन् । खजुरा गाउँपालिका साबिकको बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, रनियापुर गाउँ बिकास समितिहरु मिलि बनेको गाउँपालिका हो । स्थानियतह निर्माणसँगै विभिन्न चुनौती र काम भए पनि समग्र बिकाससँगै खजुराले भौतिक पुर्वाधार निर्माणमा उल्लेख कार्य गरेको स्थानियको बुझाई छ ।
खजुरा गाउँपालिकाले सरदरमा प्रत्येक बर्ष १६ किलोमिटर पक्की सडक निर्माण गर्दै हालसम्म ४८ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गरेको छ भने प्रत्येक बर्ष ४० किलोमीटर बाटो स्तर उन्नति ग्राभेल, माटो पटान लगायत गर्ने कार्य गर्दै आएको छ । त्यस्तै खजुरा गाउँपालिकाले ३ वटा चिल्ड्रेन पार्क र एउटा जेष्ठ नागरिक पार्क निर्माण गरिसकेको छ । खजुरामा जेष्ठ नागरिक कै लागि एउटा खुसियाली घर निर्माण सम्पन्न भैसकेको छ भने अर्को भवन निर्माणाधिन अवस्थामा रहेको छ ।


खजुरालाई खेलकुदको हबको रुपमा बिकास गर्न र बिगत लामो समयदेखि जिल्लामा खजुराले खेलकुदमा राखेको बर्चश्व कायम गर्न र खेलकुदप्रति खस्कीरहेको स्थानियहरुको चासोलाई कम गर्न गाउँपालिकाले खजुरा वडा नम्बर ४ मा मिनि रंगशाला निर्माण कार्य समेत उदाहरणीय बनेको छ ।
नेपालगन्ज गोल्डकप आयोजना सम्पन्न गरेको उक्त रंगशालाले खजुरामा खेलकुदको सम्भावनालाई समेत जिवित राख्न सफल भएको पाईन्छ । त्यस्तै खेलकुद कै क्षेत्रमा खजुरा वडा नम्बर २ मा खेलकुद ग्राम स्वीकृत भैसकेको र सोको निर्माण कार्य आरम्भ गरिएको छ ।


जनतालाई प्रत्येक्ष सरोकार राख्ने बाटो पुल पुलेसा मात्रै होईन समग्र गाउँपालिकाबासीको लागि आवश्यक पर्ने कृषि र अन्य क्षेत्रमा समेत उपयोगी रहने भौतिक पुर्वाधार निर्माणका लागि खजुराले योजना तयार गरेर निर्माण गर्दै आएको छ । खजुरा गाउँपालिकाले खजुराको कृषी क्षेत्रको विकासको लागि र कृषकको प्रत्यक्ष सरोकार राख्ने १ हजार ५ सय मेट्रीक टनको शीत भण्डार निर्माण कार्य हुँदैछ भने ५ सय जना क्षमताको बहुउद्देश्यीय सभा हल समेत निर्माणाधिन अवस्थामा रहेको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ३ बि गाउँ स्थित खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण स्थलको ६ बिगाह १० कठ्ठा जमिनको दर्ता प्रक्रिया सम्पन्न गरिसकेको र पालिकाको प्रशासनिक भवन निर्माणका लागि प्रारम्भिक कार्य सम्पन्न भैसकेको छ भने चालू आव देखि निर्माण प्रक्रियामा रहेको छ ।
उसो त खजुरा गाउँपालिका कृषि, स्वास्थ्य, खेलकुदको लागि मात्रै परिचित होईन, शिक्षा तथा रोजगारको लागि समेत भौतिक तथा सामुदायिक विकासको काममा अगाडी रहेको छ, सोही अनुरुप खजुरामा औद्योगिक ग्राम निर्माणको लागि प्रक्रिया पूरा गरेको छ भने सोको लागि आवश्यक पर्ने जमिन खजुरा गाउँपालिका वडा नम्बर ६ स्थित पुरैनीमा हालसम्म १६ बिगाह जमिनमा तारबार लगाउने कार्य समेत सम्पन्न गरिसकेको छ ।


खजुरा गाउँपालिकाले निर्माणको क्षेत्रमा गरेको उल्लेख्य कार्य र योजनाले मुर्तरुप लिनेमा स्थानिय आशाबादी समेत छन् । जनताको आशा र भरोसामा खरो उत्रेको खजुराले अझै केही बाटो तथा पुल पुलेसामा लगानी गर्नुपर्ने देखिन्छ । खजुरा वडा नम्बर ३ स्थित तत्कालीन पुनर्वास कम्पनीले निर्माण गरेको धौलागिरी– बि गाउँ जोड्ने पुल बिगत ४ दशकदेखि जिर्ण रहेको छ ।
सो पुल हँुदै गौघाट र बर्दियालाई जोड्ने काम गर्दछ । पुल निर्माण हुँदा हाल निर्माणको क्रममा रहेको गाउँपालिकाको प्रशासनिक भवनसम्म पुग्न धौलागिरी र १ नम्बरलाई समेत सहज हुने स्थानीयहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *