Thursday, November 21सत्यम खबर
Shadow

निर्माणको पर्खाईमा फुल्टेक्राको बाटो….. मेयरदेखि वडाअध्यक्षसम्मको ताल आ–आफ्नै

नेपालगन्ज, ६ श्रावण– नेपालगन्ज वडा नं. ६ फुल्टेक्रा गाउँ भित्र रहेको करीब ३ सय मिटर बाटोलाई हेर्दा नरैनापुरको विकट क्षेत्रको विकास नभए जस्तै देखिन्छ । बाटोमा हिड्ने बटुवाहरुले दैनिक रुप मै बाटो कहिले बन्ला भन्ने प्रश्न गर्छन् । तर ३ वर्ष अघि वडाअध्यक्ष मार्फत गरिएको प्रतिबद्धता हालसम्म पुरा नहुँदा टोलबासीहरुलाई समस्या उत्पन्न भएको छ ।
फुल्टेक्रा गाउँमा रहेको फुल्टेक्रा माध्यमिक विद्यालयदेखि नारायण बर्माको घरसम्म करीब ३ सय मिटर दुरी भएको बाटो विगत वर्षदेखि अब बन्ला, अब भन्ला भनी टोलबासी पर्खी बसेका छन् ।
तर बाटो बन्ने नाम कसैले लिंदैन, कारण एउटै छ– नारायण बर्मा र फुल्टेक्रा माध्यमिक विद्यालयले घर नभत्काउँदा ।
यस विषयमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख मेयर डा. धवलशम्शेर राणाको भनाई अनुसार “हामीलाई घर तोडेर दिनुस्, हामी बाटो बनाई दिन्छौं, हामी कसैको घर तोड्न जाने होइन, नापी मार्फत निशान लगाईएको भागसम्म सबैले तोडेर क्लीयर गरेपछि हामीले बाटो आजै बनाउने छौं ।”
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहको भनाई अनुसार यसमा धेरै समयदेखि मैले चाँसो दिंदै आईरहेको छु । विगतमा टोलबासीहरुको उपस्थितिमा सम्झौता समेत भएको थियो तर त्यो सम्झौता अनुसार पनि नारायण बर्मा र फुल्टेक्रा माध्यमिक विद्यालयले भत्काउने तर्फ ध्यान दिएनन् । नारायण बर्माको अगाडी र पछाडी दुबै साईड काटिने हो, तर उनले कुनै पनि साईड काट्न तयार नभएको अवस्था छ, त्यसैगरी फुल्टेक्रा स्कुलले पनि विभिन्न बहानामा नकाट्ने सोचमा रहेको हुँदा बाटो निर्माण रोकिएको छ, म फेरी पनि अब सिडिओ सावलाई भनेर प्रयास गर्नेछु ।
यसै विषयमा फुल्टेक्रा माध्यमिक विद्यालयका पूर्वअध्यक्ष ओमप्रकाश श्रीवास्तवको भनाई अनुसार स्कूल सबैको साझा हो, स्कूलसित थप सम्पत्ति समेत नभएको अवस्थामा यदि तोडियो भने स्कूलमा अध्ययनरत विद्यार्थी पढ्न कहाँ जाने भनी उल्टै प्रश्न गर्नु भयो । स्कूल सरकारी हो, सरकारले चाहे तोड्न सक्छन् हामी केही भन्ने छैनौं ।
फुल्टेक्रा टोलका बासी दमनसिंह भन्नुहुन्छ– “यो बाटो हेर्दा नरैनापुरभन्दा पनि विकासमा पछि छौं, स्पष्ट देख्न सक्दछौं, नगर प्रमुखदेखि वडाप्रतिनिधि सम्मको आँखा यहाँसम्म पुग्न सकेको छैन ।’ पटक पटक गुनासो गर्दासम्म वडाअध्यक्षले यो–त्यो बहाना बाहेक हामीलाई अरु थप केही उपलब्ध दिन सकेका छैनन्’ भन्ने गुनासो गरे ।
यसैगरी नारायण बर्मा घर छेउमामा बस्ने श्रृजना गुरुङको भनाई अनुसार अब वर्षातको बेलामा नाली भित्रको पानी मेरो घरमा पस्छ, हामीले हरेक वर्ष वर्षातको पानी घरबाट बाहिर सोर्ने काम बाहेक थप केही भएको छैन, बाटोमा पटक–पटक ग्राबेल हालेर बाटोको उचाई बढाउनु बाहेक वडा कार्यालयले केही उपलब्ध दिन सकेको अवस्था छैन । हामीले वडाअध्यक्षलाई पनि यस विषयमा पटक–पटक जानकारी गराईसकेको अवस्था छ, तर वडाका कुनै प्रतिनिधिहरुको ध्यान यसतर्फ केन्द्रित हुन सकेको छैन । नयाँ–नयाँ टोलको बाटो पिसिआरदेखि पिच भएको पाईन्छ तर यहाँ सदियौंदेखि बटुवाहरुको हिडाई हुन्छ, बाटोमा फोहोरको थुप्रोदेखि हिलो बाहेक केही छैन ।
यसैगरी फुल्टेक्रा टोलका सुरज सोनीको गुनासो फरक पाईन्न, उनका भनाई अनुसार यस टोलको विकास कहिले होला भन्न सक्ने अवस्था छैन, वडाअध्यक्षलाई हामीले पटक पटक जानकारी गराई सकेका छौं, अब बनाउने भन्ने अश्वासन समेत उनीमार्फत आउने गर्छ, तर बाटो बन्दैन । किन भन्दैन भन्ने प्रश्न समेत सोनीले वडाअध्यक्षलाई गर्दछन् ।
यसैगरी फुल्टेक्रा टोलका चाँदबाबु बागवानले समेत गुनासो गरेका छन् । छिटोभन्दा छिटो बाटो बनाई हामीलाई पनि नगरमा बसेको अभाष दिलाउन वडाअध्यक्षलाई अनुरोध गरे ।
फुल्टेक्रा टोलका सुमन गुरुङका अनुसार फुल्टेक्राको समग्र विकासका लागि लागि हामीले वडाअध्यक्षलाई चुनेका छौं, प्रतिनिधिहरुलाई हामीले समस्या देखाई दिने हो, तर वडाअध्यक्षले कुनै चाँसो नै नदिए पछि हामीले के गर्ने, कहाँ जाने भन्ने गुनासो गरेका छन् ।
गुरुङले अगाडी थप्दै नगरप्रमुख राणालाई प्रश्न गरे– “यदि घर भत्काउने हामी टोलबासी नै हौ भने, हजुरलाई प्रमुखको कुर्ची किन चाहियो ? ९० प्रतिशत टोलबासी घर भत्काउन तयार रहेको अवस्थामा नारायण बर्मा र फुल्टेक्रा स्कूलले गर्दा विकास कार्य रोकिनु कदापि सही होइन, यस वर्ष नगरप्रमुखको ध्यान केन्द्रित भई छिटोभन्दा छिटो बाटो निर्माण तर्फ ध्यान जाओस् ।” गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *