Thursday, November 21सत्यम खबर
Shadow

खजुरा गाउँपालिकाको सामाजिक परीक्षण

खजुरा, ३० असार
बाँकेको खजुरा गाउँपालिकाको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण र छलफल गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र बास नेपालगन्जको सहजीकरणमा मंगलबार खजुरामा प्रतिवेदन प्रस्तुतीकरण र छलफल गरिएको हो ।
बासका निर्देशक हेमराज भट्टले सन्दर्भ सामाग्री अध्ययन र समीक्षा, अन्तरवार्ता, स्थलगत अवलोकन, समूह केन्द्रत छलफल, बर्हिगमन अभिमत संकलन, नागरिक प्रतिवेदनपत्र, सूचनाहरुको संकलन तथा विशलेषणको विधि र प्रक्रिया प्रयोग गरी तयार भएका प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेपछि छलफल भएर अन्तिम प्रतिवेदनका लागि सुझाव दिइएको छ ।
प्रतिवेदनले समग्रमा खजुराको कार्यसम्पादन शैली जनप्रतिनिधि र कर्मचारीको समन्वयमा राम्रो भएको देखाएको छ । जनसहभागिताको कमी, सूचना पाटी कतिपय ठाउँमा नराखेको, हरेक वडामा विषयगत प्राविधिक नहुनु, दरबन्दी अनुसार कर्मचारीमा कमी जस्ता केही कुराहरु बाहेक कानून निर्माणदेखि विकास निर्माण तीव्र गतिमा अगाडि बढाएर सामाजिक रुपान्तरण गर्दै समग्र खजुराको समृद्धिको दिशामा खजुरा अग्रसर रहेको कुरा प्रतिवेदनले बोलेको छ ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा समृद्धिका आधारसहति निर्वाचन ताका गरेका वाचा पूरा गरी आगामी निर्वाचित हुने जनप्रतिनिधिलाई काम गर्ने दीर्घकालीन बाटो छोडेर जाने बताए । उनले अहिले ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधि नयाँ भएकाले केही समस्या हुनु स्वभाविक भए पनि संघीयतामा अहिलेका जनप्रतिनिधि संस्थापक भएकाले त्यही अनुसारको भूमिका निर्वाह गरिनु पर्ने बताए ।
बाँकेका ८ वटा स्थानीय तहमध्ये खजुराले सामाजिक परीक्षणको पाटोलाई समेत अवलम्बन गर्दै आएकोले यो नयाँ शुरुवात भएको अध्यक्ष कक्षपतिले बताए । उनले टुक्रे योजनाहरु अब नबन्ने, इच्छाशक्ति राखेर काम गर्दै जनसहभागितालाई बढाउने प्रयास गरिने प्रतिवद्धता जनाए ।
उपाध्यक्ष एकमाया विकले सूचना पाटी राख्न योजनामै बजेट छुट्याउने गरे पनि राख्न अटेरी गरेकाले कडाईका साथ जाने बताइन । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले आवश्यकता अनुसार कर्मचारी दरबन्दी नहुँदा कतिपय कार्यसम्पादनमा समस्या हुने गरेको बताए ।
खजुराले जनतासम्म सूचना पु¥याउन मोबाइल एपदेखि वेभसाइटको समेत प्रयोग गरे पनि त्रैमासिक सूचना प्रकाशित गर्न नसकिएको र हेल्प डेक्सको छुट्टै व्यवस्थापन नभए पनि कर्मचारीबाटै सहयोगी भूमिका निर्वाह गरिएको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार, ३ का अध्यक्ष कान्तुराम गौतम, कार्यपालिका सदस्य निशार अलिलगायतले सुझाव राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *