काठमाण्डौ, ११ वैशाख – नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र १ हजार १ सय ४३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट १ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
काठमाण्डौ उपत्यकामा भक्तपुरमा ८७, ललितपुरमा १ सय ४१ र काठमाण्डौमा ६ सय ४४ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कूल सङ्क्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ ।
गत २४ घण्टामा ३ सय ६८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७७ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९३.३ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।