शुभम शर्मा
नेपालगन्ज, १० बैशाख – नेपालगन्जमा रहेको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नर्सिङ्ग होम नेपालगन्जमा हाल कोभिड–१९ का बिरामीहरुका लागि बेडको अभाव देखिएको छ ।
सम्बन्धित अस्पतालकाका प्रमुख डाक्टरहरुदेखि वर्तमान र निवर्तमान फोकलपर्सनहरुले समेत प्रत्येक पालिकाहरुले बाटो बनाई १०–१५ बेड भएको अक्सिजनयुक्त कोभिड अस्पताल निर्माण गर्न जरुरी देखिएको बताउँछन् ।
विहिबार राती १२ बजेदेखि विभिन्न सार्वजनिक सञ्जालमा सम्बन्धित अस्पतालका प्रमुखदेखि यस क्षेत्रका निर्वाचित जनप्रतिनिधिहरुले समेत आ–आफ्नो स्टाटसमा समस्यालाई दर्शाएका छन् ।
पूर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ का सांसद मोहम्मद ईस्तियाक राईले आफ्नो स्टाटसमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलसम्मलाई आफ्नो गुट कुर्सी, सरकारसँग जनताको प्राण रक्षाका निम्ति पनि अविलम्ब व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।
त्यसैगरी भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले आफ्नो स्टाटसमा स्थिति नियन्त्रण बाहिर, कोभिडको लागि छुट्टाएर राखिएका सम्पूर्ण १४२ बेडहरु पूर्णरुपमा भेरी भराऊ, जटिल प्रकारका संक्रमित बिरामीको आउने क्रम जारी छ, हामी मुखदर्शक भएर बस्ने बाहेक केही गर्न नसक्ने अवस्था छैन । हरेकले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी देखिन्छ, आउँदा दिनहरु अझै भयावह हुने देखिन्छ, हामी हाम्रोतर्फबाट सतप्रतिशत दिन्छौ, हरेक नागरिकले आफू सुरक्षित हुन र अरुलाई पनि सुरक्षित हुन सहयोग गर्न हार्दिक अनुरोध गर्दछु भनी लेखेका छन् ।
सोही स्टाटसलाई आधार बनाई यस सत्यमखबर डटकमका सहसम्पादक हेमन्तराज काफ्ले आफ्नो फेसबुक स्टाटसमा “म एक नागरिक हो, मेरो नि आफ्नो जिम्मेवारी छ” भनी लेखेका छन् । सोही स्टाटसकै आधारलाई मानी नेपालगन्जमा रहेका मनकारी सहयोगी हातहरुले अक्सिन ग्यास खरिद गर्न भेरी अस्पताललाई आर्थिक सहयोग गर्न शुरु गरेका छन् ।
सहसम्पादक काफ्लेले अग्रसरता देखाएका शब्दमा हातेमालो गर्दै यस सत्यमखबर डटकमका सम्पादक पूर्णप्रसाद ढकालले समेत नगद रु. ४ हजारको आर्थिक सहयोग गरी अभियानलाई निरन्तरता प्रदान गर्नुका साथै यस अभियानमा सहयोग हातहरुमा कसैले १ हजार, कसैले १ हजार ५ सय, कसैले २ हजार, कसैले ३ हजार, कसैले ५ हजार, १ हजार १ सय सहयोग गरेका छन् । सोही अभियानलाई निरन्तरता दिंदै नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष अफिक बेहनाले २ लाख नगद आर्थिक सहयोग गरि २ सय अक्सिन ग्यास सिलेण्डर खरीद गर्न सराहनीय कार्य गरेका छन् ।
सहसम्पादक काफ्लेद्वारा चलाईएको यस अभियानलाई मानवताप्रेमीहरुले सकारात्मक रुपमा लिएका छन् र खुलेर भेरी अस्पतालमा अक्सिन ग्यास अभाव हुन नदिन आर्थिक सहयोग गरिरहेका छन् ।
सत्यमखबर डटकमका सहसम्पादक यस अगावै पनि मानवताका निम्ति धेरै कार्यहरु गरिसकेका छन् । जसमा प्रमुख रुपमा रहेको हरियो बोट–विरुवा जन्मदिनको अवसर पारी उपहार स्वरुप प्रदान गर्नु रहेको छ । यति मात्र कहाँ हो पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, साँसद, जनप्रतिनिधिलगायत सबैलाई उपहारको रुपमा सहसम्पादक काफ्लेले हरियो बिरुवा नै दिने गरेका छन् ।