
नेपालगन्ज, ७ बैशाख – (कोडिभ–१९) कोरोना भाईरसले विश्व आक्रान्त भएको बेला नेपाल पनि अछुतो रहन सकेन । यसै भाईरसले गर्दा नेपालका कृषकहरु बिउबिजनदेखि खेतमा प्रयोग गर्ने मल समेत नपाएको कुरा कसैबाट लुकेको छैन भनी डुडुवा गाउँपालिका वडा नं. २ का किसानहरु बताउँछन् ।
विगतको लकडाउनले गर्दा बाँकेका किसानहरुलाई बिउबिजनको लागि धेरै समस्या खेप्नु परेको स्मरण गर्दै यहाँका कम्पनीहरुले नेपाल मै बिउ उत्पादन गर्ने निर्णय गरी डुडुवा गाउँपालिका बेहतनी वडा नं. २ मा ३ हेक्टर (६० कठ्ठा) क्षेत्रफल भित्र रामपुर हाईब्रिड–१० नामक मकैको बीट उत्पादन गर्ने तयारी गरेका छन् ।
यसै सन्दर्भमा आज मंगलबार डुडुवा गाउँपालिका वडा नं. २ मा रामपुर हाईब्रिड–१० उत्पादन गर्न प्रयोग गरिएको ३ हेक्टर (६० कठ्ठा) क्षेत्रफल भित्र सम्बन्धित जानकारहरुको टीम भेला भई उक्त विषयमा बृहत छलफल गरेका छन् ।
विभिन्न जिल्लामा बिउबिजन सम्बन्धी काम गर्दै आएको ग्लोबल एग्रीटेक नेपाल प्रा.लि. (गेट–नेपाल) बाँकेका प्रमुख टिकाराम रिजालका अनुसार यसपटक हामीले डुडुवा गाउँपालिका वडा नं. २ का स्थानीय कृषक राजेन्द्रप्रसाद बर्माको अगुवाईमा पहिलो पटक नेपाल मै हाईब्रिडको बिउ उत्पादन गर्ने प्रयास गरेका छौं ।
प्रमुख रिजालले अब उप्रान्त नेपाल मै मकैको हाईब्रिड उत्पादन हुने लक्ष्यका साथ हामी अगाडी बढेको हुँदा यसपटक पहिलो प्रयासमा राजेन्द्र बर्मालाई अगाडी बढाएको तथा आउने दिनमा थप किसानहरुलाई प्रोत्साहन गरी अगाडी बढाउने लक्ष्य लिएको बताउनुभयो ।
प्रमुख रिजालका अनुसार यस्तो खाले लक्ष्य हामी एकलैबाट सम्भव नहुने भएकै हुँदा अन्य सम्बन्धित सबै पक्षले यसमा सहकार्य गरी हातेमालो गर्नुपर्ने हुन्छ । आउने दिनमा यसको बृहत प्रचार–प्रसार हुनुका साथै थप कृषकहरुलाई सहभागी गराई हामीले कार्य गर्ने हाम्रो लक्ष्य रहेको बताउनुभयो ।
हालसम्म कम्पनीहरुले जमिन लिजमा लिएर काम गरेको रेकार्ड धेरै रहेको पाईन्छ । हामीले नयाँ तरिकाले कार्य गर्ने सोचका साथ सम्पूर्ण लगानी किसान र कम्पनीको संयुक्त रुपमा गरी उत्पादन गर्ने प्रयास गरेको प्रमुख रिजालले बताउनुभयो ।
यसैगरी कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख अम्मरबहादुर पुनले यो लेबलसम्म काम गर्दा यसमा कम्पनी र किसानको श्रम र लगानीको मूल्यांकन गरी कति फाईदा हुन्छ भन्ने ध्यान दिनु जरुरी देखिन्छ । यसमा किसानद्वारा गरिएको श्रम अनुसार फाईदा भयो/भएन, यसले कति मार्केट लिन सक्छलगायत विषयतर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।
हालसम्म भारतीय हाईब्रिडले कब्जा गरेको स्थानमा नेपाली उत्पादनले कति प्रतिस्पर्धा गर्न सक्छ । हाल पनि सर्लाही, बर्दिया, बाँके, सुर्खेतलगायतका जिल्लामा भारतीय हाईब्रिड मकैले नै कब्जा गरेको अवस्था रहेको प्रमुख पुनले बताउनुभयो । उहाँले बाँके–बर्दियामा मकैको धेरै माग भएकोले सर्लाही जिल्ला जस्तै चारवटै सिजनमा मकै खेती गरे जस्तै बाँकेमा हाईब्रिड मकैको खेत गर्न सके यहाँका किसानहरुको आर्थिक अवस्थामा धेरै बृद्धि हुने बताउनुभयो ।
यसैगरी, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले शुरु–शुरुमा यो हाईब्रिड मकैको घोका नआउने भएकोले किसानहरु आत्तिनु पर्ने हुँदैन, नेपाली जातको हाईब्रिड भएकोले सरकारद्वारा अनुदान दिन पनि सजिलो हुने बताउनुभयो । उहाँले यसको उत्पादनमा बृद्धि गर्न सके हामीले भारतका सबै हाईब्रिडसँग प्रतिस्पर्धा गर्न नसकेपनि कुनै–कुनै सँग प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।
यसैगरी, बिउबिजन प्रयोगशाखा खजुराका प्रमुख दिलीपकुमार सिंहले यहाँका माटो मलिलो भएको हुँदा उत्पादनमूलक पाईन्छ । गेट नेपालद्वारा गरिएको पहिलो प्रयासबाट आउने दिन थप किसानहरु आकर्षित हुने आशा लिएका छौं । दुईवटा घोंघा आउने भनेको मानिस जस्तै बिरुवा पनि तनाव भएर हो तर यसमा एउटा घोंघामा बाली लागेन भने अर्कोमा बाली लाग्ने भएको हुँदा समेत किसानहरुलाई फाईदै हुने बताउनुभयो ।
यसैगरी, कृषक राजेन्द्रप्रसाद शर्माले गेट नेपालको प्रयासबाट नै यसखाले पहिलो प्रयास गरिएको र यसबाट हामीलाई आर्थिक लाभ हुने आशा देखिएको छ । यसमा गेट नेपालको सराहनीय कार्यलाई नै श्रेय दिन चाहान्छु भनी बताउनुभयो ।
उक्त छलफल कार्यक्रमको आयोजना ग्लोबल एग्रीटेक नेपाल प्रा.लि.द्वारा गरिएको थियो भने कार्यक्रमको सञ्चालन तेज खड्काले गरेका थिए ।
कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख अम्मरबहादुर पुन, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, बिउबिजन प्रयोगशाला खजुराका प्रमुख दिलीपकुमार सिंह, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (मकै जोन) नेपालगन्जका प्रमुख कफिल अहमद, सीमिट एनसाफका प्रजनक डाईबिन जोशी, किसान, पत्रकारलगायतको सहभागिता रहेको थियो ।






