Thursday, November 21सत्यम खबर
Shadow

तीन दलको बैठक देउवा निवासमा सुरू

काठमाडौं, २७ चैत – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा तीन दलको बैठक सुरू भएको छ ।
नयाँ सत्ता गठबन्धन बनाउनेबारे छलफल गर्न सभापति देउवाले माओवादी केन्द्र र जसपाका शीर्ष नेतालाई बुढानिलकण्ठ बोलाएका हुन् ।
काँग्रेसको गत चैत २० मा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।


त्यसको एक साता हुँदा पनि देउवाले पहल नगरेकोमा आलोचना भइरहेको थियो ।
बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पुगेका छन् । जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी छन् ।
बैठक जारी रहेको प्रवक्ता शर्माले बताए । (सेटोपाटी अनलाईनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *