कोहलपुर, २७ फागुन – कथाकार, प्राज्ञ माया ठकुरीलाई पूर्णिमा साहित्य रत्न–२०७५ ले बुधबार कोहलपुरमा सम्मान गरिएको छ ।
नेपाली आख्यानका क्षेत्रमा अतुलनिय योगदान दिए वापत उनलाई रु.२५ हजार ५ सय ५५ रुपैयाँको राशीले सम्मान गरिएको छ । गतवर्ष नै उनलाई सम्मान गर्ने गरि कार्यक्रम तय भए पनि कोरोना संक्रमणको त्रास तथा लकडाउनले गर्दा सो सम्मान रोकिएको पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ सनत रेग्मीले राजधानी पछिको राम्रो साहित्यको गतिविधि हुँदै आएको कोहलपुरले यस क्षेत्रकै चेली माया ठकुरीलाई सम्झिएकोमा प्रतिष्ठानलाई धन्यवाद दिए । उनले भने–‘माया ठकुरीको योगदान नेपाली साहित्यका क्षेत्रमा धेरै छ । उनी आख्यानका एउटा बलियो खम्बा हुन् ।’
कार्यक्रममा शेखर दहितको थारु भाषामा लेखिएको कथा संग्रह गयर्वा बुडुक खिस्सा ‘ठाँह्रा’ पनि विमोचन गरिएको छ । विमोचित कृतिका बारेमा बोल्दै लेखक सागर गैरेले यो कृतिमा थारु समुदायले बाँच्दै आएको हालको परिवेश भन्दा झण्डै ३०–४० वर्षअघिको समयलाई चित्रण गरेको बताए । उनले बदलिँदो हालको समयमा विस्तारै हराउँदै गएको थारु समुदायको पहिचान लगायतका कुरा कृतिमा समेटिएको बताए । कृतिकार दहितले आफूले आफ्नै समुदायको कुरा कथामा समेट्दा आफूलाई निकै खुसी लागेको बताए ।
कार्यक्रममा प्राज्ञ डा. योगन्द्र यादव, प्राज्ञ डा. उषा ठाकुरले सम्मानीत स्रष्टा र कृतिकारलाई शुभकामना दिँदै आगामी दिनमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कोहलपुरमा हुने साहित्यका कार्यक्रममा पनि सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।
कार्यक्रममा हालसालै कोहलपुर उद्योग वाणिज्य संघमा निर्वाचित भएका प्रतिष्ठानका कार्यसमिति तथा आजीवन सदस्य प्रदिप भट्टराई, चण्डी प्रसाद गैरे, दीपक बहादुर भण्डारी र अर्जुन सुदेवीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार हरि तिमिल्सिना, महानन्द ढकाल, शुसील चौधरी, पुष्कर रिजाल ‘पुष्प’, प्रदिप भट्टराई, सुमित्रा न्यौपाने, विक्रम शिशिर, भावना पाठक, निरञ्जना चन्द, हेमप्रकाश मंजील, डा. देवेन्द्र आचार्य, सोम डेमनडौरा, श्रीभद्र सुवेदी, तुलसी पौडेल, लगायतको उपस्थिती रहेको थियो ।