
नेपालगन्ज, २५ फागुन – नेपालगन्ज उपमहानगरपालिकाले यातायात व्यवस्था कार्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराउने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले नेपालगन्ज २० गायत्रीनगरमा रहेको करिब १० कठ्ठा ऐलानी जग्गा यातायात व्यवस्था कार्यालय वडा नम्बर १७ सोल्टी होटल नजिकै रहेको २० कठ्ठा जग्गा कलेज स्थापनाका लागि नाथमलाई उपलब्ध गराउने निर्णय गरेको हो । सो स्थानमा हिन्दु र मुस्लिम समुदायले धार्मिक प्रयोजनका लागि २÷२ कठ्ठा जग्गा उपलब्ध गराइने भएको छ । गायत्रीनगरमा ऐलानी जग्गामा बसिरहेको परिवारलाई उचित व्यवस्थापन गरिने भएको छ ।
बैठकले भूमिहिन सुकुम्बासी र भूमिहिन दलित तथा अव्यवस्थित बसोबासका लागि क्षेत्र निर्धारण गर्ने विषयमा सहजिकरणका लागि ५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरि नगर प्रमुख राणाको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधी सम्मिलित समिति गठन गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । बैठकमा फल्टेक्रामा क्रिकेट मैदान निर्माणका लागि आवश्यक सहयोग गर्न नगर प्रमुख राणाले आग्रह गर्नुभयो ।
बैठकमा भूमि सम्बन्धि समस्या समाधान आयोग बाँकेका अध्यक्ष शान्ति ढकाल, नेकपा एमालेका दत्तप्रसाद आचार्य, नेपाली काँग्रेसका तप्त पौडेल र प्रशान्त विष्ट, नेकपा माओवादी केन्द्रका डिल्ली बराल, राप्रपाका नरेन्द्र पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, वडा नम्बर ५ का वडाध्यक्ष कैफुल बरा, वडा नम्बर ६ का अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर १० का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १३ का अध्यक्ष विरेन्द्र शाह, वडा नम्बर १४ का अध्यक्ष ओमकारनाथ मिश्रा, वडा नम्बर १९ का अध्यक्ष परसराम कुर्मी, वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्की लगायतले विभिन्न सुझाव दिनुभयो ।
बैठकमा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख पूर्णबहादुर खत्री र नाथमका विपिन नेपालले जग्गा प्राप्त हुना साथ भवन निर्माण कार्य सुरु गर्ने बताउनुभयो ।

