नेपालगन्ज, २३ फागुन – युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले यस क्षेत्रका विभिन्न जिल्लामा रहेका युनेस्को क्लबहरुका लागि नेपालगन्जमा नेतृत्व सम्बन्धि तालिमको आयोजना गरेको छ ।
बाँके युनेस्को क्लबसंगको समन्वयमा आयोगले बाँके, बर्दिया, प्युठान र रुकुममा रहेका युनेस्को क्लबहरुका पदाधिकारी र कार्यसमिति सदस्यहरुका लागि आईतवार यहाँ लिडरशिप तालिमको आयोजना गरेको थियो ।
सो तालिमको उदघाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले सामाजिक कार्य र अन्य विभिन्न गतिविधिमा युनेस्को क्लबहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले कोभिड १९ महामारीमा बाँके युनेस्को क्लबले गरेको कार्य अति नै प्रशंसनीय रहेको पनि बताउनुुभयो ।
सो तालिममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले युनेस्कोको बारेमा विस्तृत रुपमा जानकारी गराउँदै आयोगको पनि काम कारवाही र जिम्मेवारीलाई प्रष्ट पार्नुभयो ।
सोही प्रकारले उक्त अवसरमा युनेस्को क्लबहरुको राष्टिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठी, महासंघका वरिष्ठ उपाध्यक्ष दिपक सरकार र महासचिव महेश्वरप्रसाद शर्माले युनेस्को सम्बद्ध शिक्षालय परियोजना, अमूर्त संस्कृति र सम्पदा तथा क्लबहरुले गर्ने कार्यक्रमका बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा बाँके युनेस्को क्लबमार्फत बाँके र बर्दियामा सञ्चालन भैरहेका विभिन्न कार्यक्रम तथा परियोजनाका बारेमा क्लबका कार्यक्रम संयोजक बसन्त विसीले जानकारी गराउनु भएको थियो ।
तलिममा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर लगायत पदाधिकारी र सल्लाहकारहरुको सहभागिता रहेको थियो भने सूर्य पटुवा युनेस्को केन्द्र बर्दिया, संस्कृति युनेस्को बर्दिया, शिक्षा युनेस्को बर्दिया, प्युठान युनेस्को केन्द्र र सानो भेरी युनेस्को क्लब रुकुमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तलिममा सहभागि भएकाहरुलाई युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो ।