
कोहलपुर, २० फागुन – बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ शान्तिनगर र डुडुवा गाउँपालिका (गन्धर्व टोल) का स्थानीय नागरिकहरुद्वारा विगत १२ दिनदेखी कोहलपुर नगरपालिका कार्यालय घेराउ गरेर धर्नामा बसेका छन् ।
बुधबारदेखी रातदिन नगरपालिका घेराउमा रहेका स्थानीय नागरिक आफुहरुले राज्यबाट पाउने अधिकार नपाएसम्म नगरपालिका अनिश्चितकालका लागी धर्ना दिने मात्र नभएर नगरपालिकाबाट प्रदान गरिने सम्पुर्ण कामकाज ठप्प पार्ने आन्दोलनमा आएका स्थानीय रोशन खत्रीले बताएका छन् ।
गत फागुन ५ गते पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरिएको थियो तर आज १२ दिन पुग्दा समेत स्थानीय सरकार मौन देखिएको छ, आखिर किन ? स्थानीय जानकी पुन मगर प्रश्न गर्दै भन्छिन् २०५४ सालदेखि बस्दै आएका छौँ, यस अघिको सुकुम्बासी आयोगले फारम भर्यो र सुकुम्बासी लालपुर्जा दिएको छ । सुकुम्बासी परिचयपत्र पनि दिएको छ, त्यो सुरक्षीत हामीसँग छ, गएको चुनावमा भोट हाल्यौ, मतदाता नामावली पनि हामीले सुरक्षीत राखेका छौँ । हाम्रो भोट चल्ने हाम्रो अधिकार दिन नसक्ने सरकार हाम्रो कामको छैन भनेर स्थानीयले आक्रोश ब्यक्त गरिन् ।
हाम्रो मुख्य मुद्दा भनेको बसाइँसराइ दर्ता घर कर सहितको फारम भर्ने हो भने आवश्यक छानबिन गरेको खण्डमा हामी तयार छौँ तर आज १२ दिनसम्म पनि यसको सुनुवाई भएको छैन । अब आगामी दिनमा आन्दोलन अझै शसक्त भएर जानेछ र आन्दोलनबाट भएको सम्पुर्ण क्षतिको जिम्मेवारी कोहलपुर नगरपालिकाले लिनुपर्छ । अब हामिसंग केहि बाँकी छैन भोकभोकै धर्ना दिएका छौँ, दैनिक ज्यालादारी गरेर बेलुका चुलो बाल्ने गरिखाने बर्गको बसाई छ । अझै पनि स्थानीय सरकार निर्मुम देखिए आफुहरु बन्दुकको गोली खान तयार छौँ भन्दै आक्रोश पोखिन ।
स्थानीय सरकारलाई लाग्न सक्छ कि यस्तै आन्दोलन गर्छन् अनि जान्छन् यसो हैन स्थानीय सरकारलाई हेक्का होस् कि २०६२–०६३ को १९ दिने आन्दोलनले तत्काल तानाशाहको अन्त्य गरेको थियो । अब कोहलपुर नगर सरकारलाई जनता कुन स्थानमा पुर्याउछन् भनेर कोहलपुर क्षेत्र अव्यवस्थित भुमिहिन तथा दलित सुकुम्बासी संघर्ष समितिका अध्यक्ष जीवन थापाले बताएका छन् ।


