Friday, November 22सत्यम खबर
Shadow

शाहरूख खानको ‘डार्लिङ्स’ मा आलिया भट्ट

मुम्बई (एजेन्सी), ४ फागुन – बलिउड फिल्म ‘डियर जिन्दगी’को सहकार्य र सफलतापछि अभिनेता शाहरूख खान र अभिनेत्री आलिया भट्टले पुनः सहकार्य गर्दैछन् ।
शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेन्मेन्ट ब्यानरबाट नयाँ फिल्म ‘डार्लिङ्स’को तयारी भइरहेको छ । सोही फिल्मबाट शाहरूख र आलिया सहकार्य गर्ने भएका हुन् ।
बलिउड हंगामाका अनुसार ‘डार्लिङ्स’को पटकथा एक आमा(छोरीको सेरोफेरोमा तयार भएको छ । जसमा आलिया मुख्य पात्रमा देखिनेछिन् । फिल्म आलियाको वाचनसँगै तयार हुने भनिएको छ ।
‘उनले पटकथा पढ्ने बित्तिकै फिल्मका लागि स्वीकृति जनाइन्,’ एक स्रोतले बलिउड हंगामालाई भनेका छन् ।


पर्दामा शाहरूख भने देखिने छैनन् । शाहरूख फिल्ममा निर्माताको भूमिका निर्वाह गर्दैछन् । ‘डार्लिङ्स’बाट जसमीत के रिनले निर्देशकको रूपमा डेब्यू गर्दैछन् । उनले यसअघि सहायक निर्देशकका रूपमा भने अनुभव बटुलिसकेका छन् । जसमीतले ‘फोर्स २’, ‘फन्ने खान’ र ‘पति पत्नी और वो’लगायत फिल्मका कथा लेखेका हुन् ।
‘डार्लिङ्स’मा आलियासँगै सेफली शाह, विजया वर्मा र रोहन माथ्यूको अभिनय हुनेछ । यसमा सेफाली र आलिया आमा–छोरीको भूमिकामा हुनेछन् ।
‘यो मुम्बईमा बसोबास गर्ने मध्यवर्गीय परिवारका दुई महिला सदस्यको कथामा आधारित हुनेछ । उनीहरू जीवनको खोजीमा हुन्छन् तर त्यसै समय असाधारण परिस्थितिमा साहस र प्रेमको स्वाद पाउँछन्,’ स्रोतले फिल्मको पृष्ठ भूमिबारे बताएको बलिउड हंगामाले लेखेको छ ।
फिल्मको छायांकन सन् २०२१ बाटै सुरू हुने भनिएको छ । फिल्म अर्को साल नै सार्वजनिक गर्ने योजनामा निर्माण हुने बताइएको छ ।
फिल्म ‘डार्लिङ्स’ बाहेक शाहरूख खानको प्रोडक्सन टोली फिल्म ‘लभ होस्टल’ र ‘बब विवस’को निर्माणमा पनि व्यस्त छन् । ‘बब विवस’को पोस्ट–प्रोडक्सन काम भइरहेको छ र फिल्म सन् २०२१ मा सार्वजनिक हुने तयारीमा छ । फिल्ममा अभिषेक बच्चन, विद्या बालनलगायत कलाकारको अभिनय छ । ‘लभ होस्टल’ मा भने बबि देवल, विक्रान्त मास्से र सान्या मलहोत्राको अभिनय दिँदैछन् ।
यस्तैमा शाहरूख खान पनि फिल्म ‘पठान’को छायांकनमा व्यस्त छन् । फिल्ममा उनीसँगै दीपिका पादुकोण, जोन अब्राहम, सलमान खानलगायत कलाकारको अभिनय हुनेछ । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *