Thursday, April 30सत्यम खबर
Shadow

कोहलपुरको दशबिगाहामा सरसफाई कार्यक्रम

कोहलपुर, १० माघ – वान अर्थ, वान लभ (one earth, one love) बाँकेको आयोजनामा कोहलपुरको दशबिगाहा क्षेत्रमा आज शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

होटल कृष्ण दशबिगाहाको आर्थिक सहयोग तथा स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके शाखा र नगर बाल सञ्जाल कोहलपुरको सहयोगमा ‘सफा तथा हरित कोहलपुर’ नारा सहित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल दशबिगाहा वरपर सरसफाई गरिएको हो ।

कार्यक्रममा स्वतन्त्र राष्ट्रिय अभियान बाँके जिल्ला अध्यक्ष कृष्णप्रसाद उपाध्याय, नगर बाल सञ्जाल कोहलपुरका अध्यक्ष रमेश वर, वान अर्थ, वान लभका पदाधिकारीहरू र होटल कृष्णमा कार्यरत समिक्षा खड्का लगायतका करिब ७० जनाको सहभागिता रहेकाे थियो ।

आफूले देखेको सपना र ‘कोहलपुर ग्यालरी’ फेसबुक ग्रुपमा लेखेको स्टाटसलाई वान अर्थ, वान लभका अध्यक्ष सरोजराज शाही र स्वतन्त्र राष्ट्रिय अभियान बाँकेले पुरा गरिदिएकोमा आफू एकदमै खुशी भएको र अबदेखि प्रत्येक शनिबार यस्तो सरसफाई कार्यक्रम चलाएर कोहलपुर नगरलाई सफा र हरित बनाएको देख्न चाहेको होटल कृष्णमा कार्यरत समिक्षा खड्काले बताईन् ।

कार्यक्रममा बोल्दै होटल कृष्णका मेनेजर कृष्ण देवकोटाले सरसफाई कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि आफू र आफू कार्यरत होटल कृष्णले यसप्रकारको कार्यक्रममा सकेको सहयोग गर्ने बाचा गरेका छन् ।

कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूमा धन्यवाद दिँदै प्रत्येक शनिबार यसप्रकारको कार्यक्रम गर्ने र आजभन्दा धेरैजनालाई सहभागि गराई कोहलपुर नगरलाई सफा राख्न आफू र आफ्नो सञ्जाल हरदम तयार रहेको नगर बाल सञ्जाल कोहलपुरका अध्यक्ष रमेश वरले बताए ।

यस क्षेत्रका पसल तथा होटल रेष्टुरेन्टहरूले आफ्नो वरपर सफाई गर्न नचाहेको र जानिजानि फोहोर गरेको स्वतन्त्र राष्ट्रिय अभियान बाँकेका अध्यक्ष कृष्ण प्रसाद उपाध्यायले आरोप लगाए । यहाँका जनप्रतिनिधिहरू र सहरमा ठूला घर ठड्याएर बसेकाहरूलाई आगामी दिनहरूमा सडकमा झारेर देखाउने उनले बताए ।

संयोजक उपाध्यायले भने, ‘खै कहाँ गए जनप्रतिनिधिहरू ? यी साना बालबालिकाको नजर सडकमा छ तर खै जनप्रतिनिधिहरूको नजर कहाँ छ ? उहाँहरूको ध्यान केन्द्रित गर्न हामीले यसरी बालबालिकाहरू सडकमा उतारेका छौं । नमस्कार गर्दै भोट मागेर बनेका जनप्रतिनिधिहरू र सहरमा ठूला घर ठड्याएर बसेकाहरूलाई आगामी दिनहरूमा सडकमै झारेर देखाउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *