
नेपालगन्ज ८ माघ – मालपोत तथा भुमिसुधार कार्यालय बाँकेको सेवा सुधारका लागि अहिले निकै पहल भएको छ । सेवा सुधारको पहललाई चौतर्फी रुपमा स्वागत गरिएको छ ।
कार्यालयको सेवा प्रवाहको प्रभावकारिता, ढिला सुस्तीको अन्त्य, भ्रष्टाचारको न्युनीकरण र विचौलियाको प्रबेशमा रोक लगाएको यो प्रयासको सफलतापछि सुधारको अपेक्षा लिएको छ । तर सुधारको पहल त्यस्तो तामझामका साथ गरिएपनि त्यस कार्यालयमा अहिलेसम्म पनि नागरिक वडा पत्र राखिएको छैन ।
नागरिक वडापत्र लगायत विभिन्न व्यवस्थापनको विषयलाई लिएर सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको अधिकारकर्मीको टोलीले आज भुमि तथा मालपोत कार्यालयको ध्यानाकषर्ण गराएको छ ।
टोलीले कार्यलयमा सबैले देख्ने गरि नागरिक वडा पत्र राख्नुपर्ने, भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको निति लागु गर्नुपर्ने, सेवाग्राहीका लागि निमार्ण गरिएको शौचालयको सरसफाइ तथा व्यवस्थापन गर्नुपर्ने, जेष्ठ नागरिक, अपाग, सेवाग्राहीका लागि सेवा सुविधा छिटो छरितो गर्नुपर्ने लगायत माग राखेको छ ।



