
डुडुवा, ५ माघ – अवध क्षेत्रबासी वीरहरुको बलिदानीले मधेशको विकासलाई नेपाली शासकहरुले रोकेको आरोप मधेशका शहिद वीरहरुको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा लगाइएको छ ।
सिके रावतको जनमत पार्टीद्वारा डुडुवा गाउँपालिकाको बेतहनीमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा केन्द्रिय सदस्य ईरफान अहमद शेषले मधेशको नाम भजाँई मधेशी दलका नेताहरुले सत्ताको भोग गरिरहेको बताए ।
‘सिके रावत’ स्वराजको अभियानलाई दबाउन गोरे पहाडीभन्दा काले मधेशी नै धेरै सक्रिए रहेको बताउँदै केन्द्रिय सदस्य शेषले आजसम्म काँग्रेस, नेकपा एमाले, राप्रपा, जसपालगायत रहेको कुनै पनि पार्टीले मधेश र मधेशी जनताको शोसन र दमनकारी सरकारीको नीति नियममा सहयोग बाहेक थप उपलब्ध हासिल नगरेको बताए ।
केन्द्रिय सदस्य शेषले उनीहरुले मधेशीबाट चुनाव जितेर जान्छन् तर मधेशीहरुको नागरिकता सम्बन्धी प्रश्न उठ्दा चु–सम्म बोल्दैनन्, मधेश विकासको कुरा उठ्दा किन बोल्दैनन् भनी प्रश्न गरेका थिए । मधेशको लागि कोही घातक छ भने ऊ यिनीहरु नै हुन्, काठमाण्डौ जाँदा राष्ट्रबादी भनेर आफूलाई चिनाउँछन् जस्ता आरोप लगाएका थिए ।
मधेश र मधेशी जनताको अधिकारबाट कुनै सम्झौता नगर्ने उद्देश्यले स्थापना भएको जनमत पार्टीको अधिक विरोध गर्ने पनि मधेशी पार्टी नै भएको आरोप लगाए ।
मधेश उपनिवेशकमा भएको बताउँदै यसलाई स्थायित्व गर्नु हाम्रो पहिलो दायित्व भएको बताए । मधेश स्वातन्त्रताको लागि जनमत संग्रह हाम्रो माग रहेको स्मरण गराउँदै नेता शेषले स्वराजमाथि जति दमन गरेपनि हामीले फूलको गुच्छाबाट जहिले पनि स्वागत गर्न तत्पर रहने बताए ।
हामी क्रान्तिकारी भएपनि आतंकवादी होइनौं, हामी गान्धीवादी हौं, तर हामी आफ्नो अधिकारको लागि एक इन्चसम्म पछाडी नआउने बताउँदै नेता शेषले अन्तिम स्वाँससम्म क्रान्ति जारी राख्ने बताए । हामीले सेना, प्रहरीलगायतले जति सुकै दमन गरेपनि, जति सुकै लाठी हाने पनि, जेल हाले पनि हामी सहाउँला तर आफ्नो अधिकारबाट पछाडी कहिल्यै नजाने र दमनकारीहरुलाई फुलबाट स्वागत गर्ने बताए ।
श्रद्धाञ्जली सभामा महिला नेतृ नशिमुन शेष जोयाले महिला हक अधिकारको लागि महारानी लक्ष्मी वाईले गरेको उदाहरण अनुसार अब मधेशी महिलाले समेत क्रान्तिको लागि तयारी गर्नुपर्ने बताईन् । नेतृ जोयाले अन्य वर्गको महिलाहरु भन्दा मधेशी महिलाहरुले अति नै पिछडिएको बताउँदै हाल सरकारद्वारा ल्याइएको नागरिकता सम्बन्धी कानुन विभेदपूर्ण रहेको हुँदा त्यसको लागि महिला अगाडी आउनुपर्ने बताईन् ।
श्रद्धाञ्जली सभामा रियाल अहमद शेष, शैलेन्द्रकुमार कर्ण, राजितराम बर्मा, विष्णु यादव, अब्दुल वाहिद शेष, जाविर हल्वाई, मो. हुशेन शाह, हरपाल सिंह, शिवकुमार चौधरीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

