Saturday, April 18सत्यम खबर
Shadow

निर्वाचन आयोगका सहसचिवको सरूवा

काठमाण्डौ, १ माघ – नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पछिल्लो समय देखिएको विवाद हेरिरहेका निर्वाचन आयोगका एक जना सहसचिवलाई सरकारले सरूवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगको कानुन महाशाखा प्रमुख रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरूवा गरेको हो ।
गौतम दश महिनादेखि उक्त महाशाखामा थिए । उक्त महाशाखाले राजनीतिक दलको दर्ता, नीति नियमदेखि विवाद निरूपणको काम गर्छ । पछिल्लो समय नेकपाको विवाद पनि महाशाखाले हेरिरहेको थियो ।


गौतमको ठाउँमा गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटालाई पठाइएको छ । सरूवापछि गौतम शुक्रबार आयोगबाट बिदा हुँदै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पार्टीको नाम र चुनाव चिन्ह आफूले पाउनु पर्ने दुबै पक्षको दाबीमा आयोगले निर्णय गर्न बाँकी छ ।
यस्तो बेलामा आयोगको परामर्शबिना महाशाखा प्रमुखलाई सरूवा गर्दा कार्यसम्पादनमा प्रभाव पर्ने एक आयुक्तले बताए ।
‘संवैधानिक आयोगहरूमा कर्मचारी सरूवा गर्दा कम्तिमा आयोगहरूसँग परामर्श गर्नुपर्छ भन्ने हाम्रो पहिलादेखि कै कुरा हो । तर त्यसको सुनुवाइ भएको छैन,’ ती आयुक्तले भने,‘अहिले उहाँको सरूवा हुँदा पनि आयोगलाई सरूवा भएपछिमात्र थाहा भयो । यस्तो कुराले आयोगको पर्फमेन्समा असर पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *