Friday, January 16सत्यम खबर
Shadow

राष्ट्रिय सभा अधिवेशन आजदेखि, सरकार अल्पमतमा

काठमाडौं, १७ पौष – शुक्रबारदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन बस्दैछ । आज अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।
राष्ट्रिय सभामा आज राष्ट्रपति कार्यालयले पठाएको पत्र सुरूमै पढेर सुनाउने र दलका नेताहरूलाई बोल्न समय दिनेजस्ता सम्भावित कार्यसूची छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि यो पहिलो बैठक हो । बैठकमा प्रतिनिधि सभा भंग भएका कुरा पनि उठ्ने नेताहरूले बताएका छन् । राष्ट्रिय सभामा ५९ जना सदस्य छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन् ।

फाइल तस्बिर


प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद छ । बेग्लाबेग्लै समूह क्रियाशील रहे पनि पार्टी औपचारिक रूपमा फुटेको भने छैन । राष्ट्रिय सभामा नेकपाका ५० सदस्यमध्ये यसअघि भएको हस्ताक्षरमा २४ जना प्रचण्ड–नेपाल समूहमा उभिएका थिए ।
नेकपा उपाध्यक्षसमेत रहेका वामदेव गौतम पनि राष्ट्रिय सभा सदस्य हुन् । तर उनी ओली, प्रचण्ड–नेपाल कतै पनि खुलेका छैनन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ओली समूहका नेता हुन् । तर उनी निर्णायकबाहेक अरू बेला बोल्न मिल्दैन ।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्नेमा नेपाली कांग्रेस र जसपा पनि छन् । कांग्रेसका ६ र जसपाका ३ तथा नेकपाका प्रचण्ड–नेपाल समूहका २४ जना सरकारको विपक्षमा छन् । ५९ जनामध्ये ३३ जना सरकारको विपक्षमा उभिँदा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्ने देखिन्छ ।
आजको बैठकमा प्रतिनिधि सभा विघटनबारे आवाज उठाउने तयारीमा आफूहरू रहेको नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले बताए ।
यसबारे बिहीबार सेतोपाटीसँग कुराकानीमा शर्माले जनताबाट निर्वाचित प्रतिनिधि बोल्नका लागि स्वतन्त्र हुने बताएका छन् ।
नेकपाका प्रचण्ड–नेपाल समूहका एक जना राष्ट्रिय सभा सदस्यले सेतोपाटीसँग कुराकानी गर्दै आजको बैठकमा प्रतिनिधि सभा भंगको विषय उठान गर्ने तयारी छ ।
‘उहाँहरू बोल्न नदिने तयारीमा हुनुहुन्छ तर हामी बोल्छौं । संसदमा जनताका प्रतिनिधि बोल्न नपाउने भन्ने पनि हुन्छ ?’ ती सदस्यले भने । सांसदहरू बोल्न खोज्ने र अध्यक्ष तिमिल्सिनाले रूलिङ गरे आजको बैठकमा जटिलता देखिनेछ ।
अध्यक्ष तिमिल्सिनाले अदालतमा विचाराधीन विषयमा राष्ट्रिय सभामा सदस्यहरूले बोल्न नमिल्ने यदी बोलेमा आफूले रूलिङ गर्ने बताएका छन् । राष्ट्रिय सभामा प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरू छन् ।
प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ, संसदीय दलका नेता दिनानाथ शर्मा, बेदुराम भुसाल, रामनारायण विडारीजस्ता नेता छन् । नेकपा ओली समूहबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल छन् । तर बादल खासै राष्ट्रिय सभामा बोल्ने गरेका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने नेकपाका कुनै समूहमा पनि खुलिसकेका छैनन् । उनी तटस्थ रहन खोजेकोजस्तो देखिएको छ । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *