Saturday, April 18सत्यम खबर
Shadow

मन्त्रिपरिषद् विस्तारविरूद्ध रिटमा सुनुवाइ स्थगित

काठमाण्डौ, १५ पौष – प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीले बताए । ‘आज हेर्न नभ्याउने भएपछि सुनुवाइ भोलि हुने भएको छ’, उनले भने ।
गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए । उक्त रिटको पेशी आजको लागि तोकिएको थियो ।


प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूहका मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए । प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ ।
संविधानको धारा ७७(१) ले प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने र अहिलेका प्रधानमन्त्री प्रतिनिधिसभा सदस्यसमेत नभएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने रिटमा निवेदनमा जिकिर गरिएको छ ।
धारा ७७(३) ले प्रधानमन्त्री पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेसम्मको अधिकार दिएको भन्दै संविधानको पालन र संरक्षण गर्ने प्रमुख कर्तव्यबाट राष्ट्रपति गम्भीर रूपमा चुकेको रिटमा उल्लेख छ ।
प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संविधानको गम्भीर उल्लंघन हुने कार्य भएको हुँदा संविधानको धारा १३३(२,३) बमोजिम विस्तारित मन्त्रिपरिषद् बदर गर्न उनीहरूले माग गरेका हुन् । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *