
शुभम् शर्मा
नेपालगन्ज, १३ पौष – एस.ओ.एस. युवालय नेपालगन्जको युवा क्लवले आज सोमबार विपन्न, सिमान्तकृत तथा पिछडिएको समुदाय तथा परिवार गुमाएका अभिभावक विहीन बालबालिकाहरुलाई एक कार्यक्रमका बीच जाडोको लागि न्यानो लुगा वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले न्यानो लुगा वितरण गर्नु भएको हो । एस.ओ.एस. युवालय नेपालगन्ज, युवा क्लवका युवायुवतीहरुले आफ्नो पाकेट खर्चबाट बचाएको रकमबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२, १९, जानकी र वैजनाथ गाउँपालिका अन्तर्गतका ६३ वयस्कका लागि बिछ्याउने म्याट र कम्बल तथा बालबालिकाहरुलाई न्यानो लुगा र लङ कपि प्रदान गरिएको थियो ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र, नेपालगन्जको समन्वयमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख डा. राणाले एस.ओ.एस. युवालय नेपालगन्जका युवायुवतीहरुले आफ्नो पाकेट खर्चबाट बचाएको रकमबाट जाडोको मौसममा विपन्न समुदायलाई न्यानो लुगा वितरण गरेकोमा सराहना गर्नुभयो ।

अध्यक्षको आसनबाट एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासका अनुसार एस.ओ.एस.मा आरक्षित ८४ युवाहरुले आफ्नो पकेट खर्चबाट बचाएको रु.४८ हजार ३५० रुपैयाँ बराबरको उक्त सहयोग गरेका हुन् । ती युवाहरुले पकेट खर्चबाट मासिक ५० रुपैयाँका दरले संकलन गर्ने गर्दछन् र उक्त रकमबाट विभिन्न किसिमका मानव कल्याणकारी कामहरु गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष वुद्धि सागर सुवेदीले पनि उक्त न्यानो लुगा वितरण गर्नु भएको थियो ।

कार्यक्रममा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्मा, उपाध्यक्ष तारा केसी, एस.ओ.एस. युवालय नेपालगन्जकी सहायक निर्देशक मीना तुलाधर, सामाजिक अभियन्ता मीनबहादुर अर्याल लगायतको सहभागिता रहेको थियो ।
एस.ओ.एस. युवालय नेपालगन्जकी अनिता शाहीले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रारम्भमा सपना सिजापतिले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले युवालयको निरीक्षण गरी गतिविधिहरुबारे जानकारी लिनु भएको उप निर्देशक विश्वासले जानकारी गराउनुभयो ।

