Monday, May 4सत्यम खबर
Shadow

‘प्रधानमन्त्री ओलीले हुकुमीशैलीमा संसद विघटन गरे’: –योगेश भट्टराई

नेपालगन्ज, १३ पौष – नेकपाका नेता तथा पुर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपि शर्मा ओली अयोग्य र असक्षम भएपछि संसद् विघटन गर्न मृत्युपत्रमा हस्ताक्षर गरेको आरोप लगाएका छन् । आफ्नै नेतृत्वमा बहुमतको सरकार हुँदाहुँदै हुकुमी शैलीमा संसद विघटन गरेर ओलीले आफ्नो र मुलुक कै मृत्युपत्रमा हस्ताक्षर गरेको भट्टराईले बताए ।
सोमबार प्रेस संगठन नेपाल बाँकेद्धारा नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्रीका पछिल्ला सबै कदम असंवैधानिक र घोर जनविरोधी भएको जिकिर गरे । नेता भट्टराईले संसद विघटनपछि नेपालमा अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बताएका छन् ।


संसद विघटनपछि देशमा बढ्दै गएको राजनीतिक अस्थिरताका कारण देशमा अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बताउँदै भट्टराईले चिनियाँ र भारतीय नेताको नेपाल भ्रमण त्यसकै निरन्तरता हुनसक्ने आशंका समेत ब्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसदबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी रहे पनि न्यायपालिका माथि आशंका उत्पन्न भइरहेको सन्दर्भमा राज्यको एक जिम्मेवार अङ्गले निष्पक्ष रुपमा भूमिका निर्वाह गर्नुपर्ने भट्टराईको भनाई थियो ।
उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्त अनुसार राज्यका अङ्गहरुको आ–आफ्नो भूमिका तोकिएको छ । न्यायपालिकाले कार्यपालिकाको छायाँ बन्नु हुँदैन । संविधान अनुसार काम गर्नुपर्छ ।’ संवैधानिक इजलासमा बरिष्ठ न्यायाधीशलाई नसमेटेर भइरहेको सुनुवाइबारे भने उनले कानुन व्यवसायीबाट विरोध भए पनि पार्टीको आधिकारिक धारणा फैसलापछि मात्र आउने प्रतिक्रिया दिए ।


संविधानको धारा ७६ अन्तर्गत सरकार संचालनका अनेकैं विकल्प हुँदाहुँदै प्रधानमन्त्री ओलीले सनकका भरमा संसद विघटन गरेर देशमा राजनितिक अस्थिरता निम्त्याउन खोजेकाले त्यसको विरोधमा नेकपाले पुष १४ गतेबाट देशब्यापी आन्दोलनको घोषणा गरेको भट्टराईले जानकारी दिए ।
न्यायपालिकाबाट संसद पुनस्थापना हुनेमा ढुक्क हुन आग्रह गर्दै भट्टराईले पार्टि एकता अहिलेको अपरिहार्य आवश्यकता रहेकाले त्यसतर्फ अग्रसर हुन सबैलाई आग्रह समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *