
नेपालगन्ज, १० पौष – शुक्रबार बाँकेमा २२ जना कोरोना भाईरसका संक्रमितहरु फेला परेका छन् ।
बाँकेका तिन वटा ल्याबमा गरिएको परिक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा जिल्ला भित्रका १०, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका १२ गरी २२ जना रहेका छन् ।
योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको सँख्या ४ हजार ३ सय ३८ पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
यसअघि आजै कोरोना संक्रमण मुक्त हुँदै बाँकेबाट १७ जना डिस्चार्ज भएका थिए । विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका १७ जना डिस्चार्ज सँगै जिल्लामा ४ हजार १ सय ५९ जना शुक्रबारसम्म डिस्चार्ज गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी गराउनुभयो ।
बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार १ सय ५९ पुगेको छ भने हाल विभिन्न आईसोलुसनमा १ सय ३६ जना उपचाररत रहेका छन् ।
आज शुक्रबार बाँके जिल्ला कै खजुरा गाउँपालिका वडा नं. ६ निवासी ५० वर्षिय पुरुषको भेरी अस्तपतालमा उपचाररत हुँदै मृत्यु भएको तथा योसहित बाँकेमा कोभिड–१९ कोरोना संक्रमित भई मृत्यु हुनेहरुको संख्या ४३ पुगेको फोकल पर्सन तेज वलीले बताउनुभयो ।
फोकल पर्सन तेज वलीका अनुसार बाँके जिल्ला र जिल्ला बाहिरका गरी हालसम्म कोभिड–१९ कोरोना संक्रमित भई मृत्यु हुनेहरुको संख्या १ सय १८ जना रहेका छन् ।
