
काठमाण्डौ, १० पौष – प्रतिनिधि सभा विघटन विरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले आज शुक्रबार पूर्ण इजलासमा पेशी तोकेको छ ।
प्रधानन्यायाधीश चोलेद्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको पूर्ण इजलास तोकेका हुन् ।

पूर्ण इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संसद विघटन गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेका थिए । ती रिटको प्रारम्भिक सुनुवाइ बुधबार भएको थियो । प्रधानन्यायाधीश राणाले ती रिटको सुनुवाइ गर्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाइदिएका थिए ।
