Friday, January 16सत्यम खबर
Shadow

ओली समूहको बैठकमा बादलले भने– संसद पुनर्स्थापना गर्छौं भन्नु स्यालको हुइयाँ हो

काठमाण्डौ, १० पौष – नेकपा विभाजनमा आजमात्रै केपी शर्मा ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टी नेतृत्वको आदेश निःसर्त मान्ने बताएका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै बादलले पार्टी सशक्त बनाउने र गुटलाई परास्त गर्ने योजना सुनाए ।
उनले प्रतिनिधि सभा विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताए । आफूहरूले नयाँ क्रान्ति गर्नुपर्ने पनि उनको तर्क छ ।

फाईल फोटो


‘संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम थियो । विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो। निर्वाचन हुनु अग्रगमन हो । हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’ उनले भने ।
उनले आफूले पार्टी नेतृत्वको आदेश निःशर्त मान्ने उल्लेख गरे ।
‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ । यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, ‘केही साथी संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन् । यो स्यालको हुइयाँ हो । हामीले यसलाई चिर्नु छ ।’
जनताको बीचमा गएर स्थिरता ल्याउने वाचा गर्न जरूरी रहेको उनको भनाइ छ ।
‘निर्वाचनबाट प्रतिगामी शक्तिलाई परास्त गरेरमात्रै जनताले विभाजित कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछ,’ उनले भने ।
मध्यावधि निर्वाचन एउटा आन्दोलन भएको उनको तर्क छ ।
‘हामीले अन्तिमसम्म प्रयास ग¥यौं । नेतृत्वलाई अपदस्थ गर्ने र परिवर्तन गर्न खोजियो । तर नेतृत्व परिवर्तन गर्न वैज्ञानिक तरिका छन्,’ प्रचण्ड–नेपाललाई लक्षित गर्दै उनले भने, ‘उहाँहरूले पार्टी फुटाउने कसम खानुभएको थियो । सरकार अपदस्थ गर्ने सपथ खानुभएको रहेछ । पार्टी प्यालेसमा गएर त्यो आकांक्षा पूरा गर्नुभएको छ ।’
उनले प्रचण्ड–नेपाल संघीय व्यवस्था उल्ट्याउने योजनामा लागेको आरोप लगाए । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *