
नेपालगन्ज, ८ पौष – प्रेस स्वतन्त्रता सेनानी स्व.श्री रामगोपाल वैश्य स्मृति प्रतिष्ठानले यस वर्ष जेष्ठ नागरिक र अशक्तहरु बीच स्व. वैश्यको वार्षिक पुण्यतिथी आज बुधबार मनाएको छ ।
विगत वर्ष प्रतिष्ठानले नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा भब्य रुपले पहिलो वार्षिक पुण्यतिथी मनाएको थियो । तर यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकोले प्रतिष्ठानले नेपालगन्जको नील सागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्र्थापना केन्द्रमा पुगी जेष्ठ नागरिक र अशक्तहरु बीच वार्षिक पुण्यतिथी मनाएको छ ।

जेष्ठ नागरिक र सुत्केरी महिलामा कम्बल र साल वितरण गर्ने कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले भने प्रेस स्वतन्त्रता सेनानी स्व. श्री वैश्यले जुन प्रकारले आफ्नो लेखनीबाट पत्रकारिता क्षेत्रको विकास र जनतालाई सुसुचित बनाउने कार्य गर्नु भो, त्यस कार्यलाई नेपालगन्जबासीले कहिल्यै बिर्सन सक्दैनन्, उहाँले पत्रकारिता क्षेत्रलाई दिनु भएको योगदानलाई मध्येनजर गरी उहाँको सदा स्मरणको लागि यो प्रतिष्ठान दर्ता गरिएको जिकिर समेत गर्नुभयो ।
उहाँले यो वार्षिक पुण्यतिथी कार्यक्रम कोरोनाको जोखिमका कारण त्यति भब्य रुपले मनाउन सकिएन तर हामी अगामी दिनमा समेत समाजसेवा कार्यलाई प्राथमिकता दिंदै आउँदो वर्ष भब्य रुपले कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा नन्दलाल वैश्यले केन्द्रकी अध्यक्ष सरिता गिरीलाई कम्बल र साल आदि हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बायोबृद्ध पत्रकार विष्णुलाल कुमाल, स्व श्री रामगोपाल वैश्यको भाई भरतकिशोर वैश्य, प्रतिष्ठानका सचिव रुद्र सुवेदी, प्रतिष्ठानका उपाध्याक्ष तथा स्व. वैश्यको छोरा अजयकुमार गुप्ता, प्रतिष्ठानका सहसचिव तथा स्व. वैश्यका बुहारी आशा ढकाल, अवधि पत्रकार संघ नेपाल, बाँके अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, नील सागर केन्द्रका संस्थापक अध्यक्ष अमन सुवेदीलगायतको उपस्थिति रहेको थियो ।



