
नेपालगन्ज, ८ पौष – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा शिवमन्दिर चोक स्थित विवादित बाटो त निर्माण गरियो तर नाला कहिले निर्माण गरिने हो ? भन्ने बारे सम्बन्धित कसैलाई जानकारी नभएको तर्क आउने गरेको पाईन्छ ।
नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणको नाममा विवादित बन्दै गएको फुल्टेक्रा चौक (शिवमन्दिर) को बाटो निर्माणका लागि मापदण्ड बमोजिम बाटो निर्माण भए पनि छेउमा बनाउने नाला हालसम्म निर्माण नभएको देखिन्छ ।
वर्षात आउन केही महिना मात्र बाँकी रहँदा समयमा ख्याल नगरी अलपत्र छोडिएको अवस्थामा पुनः फोहोर पानी जमाव हुने, शिव मन्दिर चौक कुरुप देखिने फुल्टेक्राका युवाहरुको भनाई रहेको छ ।

शिवमन्दिर चौक कै छेउमा विगतदेखि नै बाटो बनाउने र सो बाटो बनाउँदा छेउछाउमा रहेका स्थानीय संरचना मापदण्ड बमोजिम तोड्ने भनी वडा मार्फत सूचना समेत जारी गरिएको थियो ।
सोही सूचनाको आधारमा स्थानीय वडाबासीहरुले आ–आप्mनो संरचना तोड्ने र बाटो नालीको मापदण्ड बमोजिम छोड्ने कार्य गरी हाल सोही स्थानमा बाटो निर्माण गरिएको देख्न सकिन्छ । तर फुल्टेक्राको मुटु मानिने शिव मन्दिर चोकको छेउमा विपिन रेग्मीले पटक–पटक वडा कार्यालयमा गई सहमति गरेपनि हालसम्म नाली निर्माणको लागि मापदण्ड बमोजिम घर नतोडेको स्थानीयहरु बताउँछन् ।
यस विषयमा विगत केही दिन अगाडी कुरा गर्दा दुई–चार दिनमा तोडिने भनी आश्वासन समेत वडाबासी विपिन रेग्मीले दिएका थिए । तर त्यो दुई–चार दिन हप्ता हुँदै महिनौं बितिसक्दा समेत नतोडिएको अवस्था देखिन्छ ।
तर यसबारे वडा कार्यालय आफै अनजान रहेको पाईन्छ । वडा कार्यालयदेखि ५० मिटरको दुरीमा रहेको घर किन तोडिएन भनी प्रश्न समेत नगरेको अवस्था देखिन्छ ।
त्यसैगरी नारायण बर्माको घरदेखि फुल्टेक्रा स्कूलसम्मको पनि बाटो बन्ने नबन्ने कुनै छाटगाँठ देखिएको छैन । विगत केही महिना अगाडी नगर प्रमुख डा. धवल राणा, वडाअध्यक्ष समितप्रताप सिंह लगायतको टीमबाट आश्वासन पाएका फुल्टेक्राबासी आश्वासनमा मात्र दिन बिताउने गरेका छन् ।
विगतको अनुगमनमा भएको छलफल अनुसार सम्बन्धित व्यक्तिहरुले गरेको सहमति अनुसार ६ मिटरको बाटो कायम हुने गरी बाटो निर्माण गरिने र सो भित्र पर्ने सम्पूर्ण संरक्षण तोड्ने जनाइएको थियो । तर त्यो बाटो निर्माण
गरिने प्रतिबद्धता मै सीमित रहेको पाईएको छ ।
विवादित बनेको फुल्टेक्रा माध्यमिक विद्यालयले वडाले गर्दा बाटो बनेन भन्ने भनाई राख्दै आईरहेको छ भने वडाले विद्यालय नतोडिएको हुँदा बाटो बनाउन नसक्ने भनाई राख्दै आएको छ । तर यसमा पीडित हुने वडाबासीको बारेमा सम्बन्धित जनप्रतिनिधिहरुले कहिले सोच्ने हुन ?
