
काठमाण्डौ, ८ पौष – प्रचण्ड–नेपाल पक्षीय नेकपाले बुधबार संसदीय दलको बैठक बोलाएको छ । प्रचण्ड–नेपाल पक्षीय नेकपाको मंगलबारको बैठकले माधव नेपाललाई अध्यक्ष चयन गरेको छ ।
बुधबार १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने एक नेताले सेतोपाटीलाई जानकारी दिए ।

’आज बुधबार संसदीय दलको बैठक छ । संसदीय दलको नेता प्रचण्डलाई बनाउँछौं,’ नेपाल निकटका ती नेताले भने, ‘केन्द्रीय कमिटीमा निर्णय भएको छैन । तर नेताहरुका बिचमा त्यो सहमति भइसकेको छ ।’
यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।
प्रचण्ड–नेपाल पक्षीय प्रतिनिधि सभा सदस्यको सोमबार पनि बैठक बसेको थियो । बैठकमा ९० जना सांसदको उपस्थिति थियो ।
