
नारायण खड्का
दाङ, २७ मंसिर – बालबालिका पिङ खेलिरहेका छन् । उनीहरूका अभिभावक हरियो दुबोमा पारिलो घाम तापेर बसिरहेका छन् । अभिभावकका हातमा कफीका कप छन् । उनीहरू ‘बनाना कफी’ पिइरहेका छन् । बीचमा काउन्टर छ । काउन्टर कुटी शैलीमा निर्माण गरिएको छ । लाग्छ, यो कुनै सन्तको आश्रम हो ।

यो दृश्य लमही नगरपालिका वडा नं. ३ टिकलीगढस्थित ‘देउखुरी बनाना रिसोर्ट’को हो । यो दाङको एक मात्रै बनाना रिसोर्ट हो ।
गत सालसम्म काउन्टर अलि फरक थियो । त्यो ‘क्लासिकल’ काउन्टर आगो लागेर ध्वस्त भयो । काउन्टर बाँस र खरबाट निर्मित थियो ।
गत फागुनमा होलीको अघिल्लो दिन विद्युत सर्ट भएर आगो लागेको थियो। पुनः निर्माण गर्दा आगोबाट जोगिन अलि सावधानी अपनाइएको छ ।

इँटा र सिमेन्टको पक्की गारो लगाइएको छ । छाना जस्तापाताको छ । तै, ‘क्लासिकल’ देखाउन त्यसमाथि खरको छानो हालिएको छ ।
त्यसभित्र बाबियोको डोरीले छानाको भाग बुनेर सजाइएको छ । पेरुङ्गोभित्र विभिन्न रंगका प्रकाश छर्ने बल्ब बलिरहेका हुन्छन् ।
पिलरको रङरोगन पनि प्राकृतिक रुख–बिरुवाको जस्तै छ । बस्ने कुर्सी र टेबुलमा पनि त्यस्तै कलाको मिश्रण देखिन्छ ।

काउन्टरको वरिपरि फूलका लहरा र बोट छन् । केही बाहिर लालुपाते लाल देखिन्छ । त्यो काउन्टरका वरिपरि चारैतिर हरिया केराका बोट छन् । ती मध्ये केहीमा केरा फलेका छन् ।
काउन्टरको भित्तामा जीवन उपयोगी भनाइ लेखिएको छ । ‘म कहिलै हार्दिनँ’, ‘जित्छु कि सिक्छु’, ‘सफल व्यक्तिहरू फरक कुरा गर्दैनन्, त्यही कुरा उनीहरू फरक ढंगले गर्छन्’, ‘हप्तामा एक दिन भेटघाट जरुरी छ, आफन्तसँग, साथीसँग र उनीसंग’ । यस्तै–यस्तै लेखिएको छ । भित्तामा केही ठूलो आकारको बुद्धको चित्र पनि छ । त्यो चित्रको मुन्तिर पनि त्यस्तै उपयोगी कुरा लेखिएको छ ।
दुई बिगाहा क्षेत्रफलमा रिसोर्ट फैलिएको छ । यो जग्गा उनले दस वर्षका लागि भाडामा लिएका हुन् । वार्षिक भाडा ८० हजार छ । कठ्ठाको दुई हजारका दरले जग्गा लिएका छन् । जग्गा लिएको करिब पाँच वर्ष बितिसकेको छ ।

अब पाँच वर्ष बाँकी छ । रिसोर्टका सञ्चालक २८ वर्षीय शिशिर केसी कमाउने भन्दा पनि यसमा रमाउन सकेका छन् ।
‘सबै कुरा कमाउनु मात्रै हैन, रमाउन सक्नु पनि हो,’ केसीले भने, ‘कम्तीमा यो बीचमा मैले मानिसहरूलाई केरा खेतीको सम्भावना उजागर गर्न मद्दत गरेको छु । यसबाट पनि दर्जनौं स्वादिष्ट परिकार बनाउन सकिन्छ भनेर विश्वास दिलाउन सफल भएको छु ।’
उनको रिसोर्टमा आउने अधिकांश ग्राहक घोराही–तुलसीपुरका हुन्छन् । राजमार्गमै रहेको हुँदा बाहिरबाट आउनेहरू गुगल म्याप हेर्दै आइपुग्छन् । ‘टाढाका कुरा छोडौं, यहीँ देउखुरीका २० प्रतिशत मानिसलाई मात्रै हामीले आफ्नो उत्पादन खुवाउन सक्यौं भने हामीलाई पुग्छ,’ केसीले भने, ‘जे कुरा पनि सानोबाट ठूलो हुने हो । मेहनत गरे पनि नहुने भन्ने कुरै छैन । हामी पहिला विश्वास जित्न खोजिरहेका छौं ।’
देउखुरी बनाना रिसोर्ट पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही बजारदेखि छ किलोमिटर पूर्वमा छ । यो रिसोर्ट खुलेको पाँच वर्षजति भइसकेको छ ।

कैलालीको टीकापुरमा कालु हमालले सञ्चालन गरेको बनाना रिसोर्टको चर्चा सुनेर अवलोकन भ्रमणका लागि गएका केसीले त्यहीँबाट प्रभावित भई दाङमा रिसोर्ट सञ्चालन गरेको बताए ।
२०७३ सालतिर केसी आफैंले टीकापुरस्थित हमालको रिसोर्टमा गएर तालिम लिए । १७ दिनसम्म काम गरे । त्यो अवधिमा उनले केराका २५ जति परिकारका बनाउन सिके ।
केसीसँग पहिले नै होटल सम्बन्धी ज्ञान थियो । त्यसैले, सजिलै र छिट्टै काम सिक्न सके ।
रिसोर्टमा कुकदेखि वेटरको काम केसी आफैं पनि गर्छन्। आफूसहित तीन जना स्टाफले काम गर्दै आएको केसीले बताए ।

‘ओभर स्टाफिङभन्दा सानो र छरितो टिम छ,’ केसीले भने, ‘परिआएको खण्डमा हामीले सबैले सबै काम गर्न सक्छौं ।’
उनीहरू अडर अनुसार मात्रै खाना तयार पार्छन्। बनानाको पकौडा, मःम, चिल्ली, फ्रेञ्च फ्राई, अचार, बनाना फुडलगायत २५ प्रकारको खानेकुरा तयार पार्छन् ।
काँचो केराबाट ती खाना तयार हुन्छ । पाकेको केराबाट सेक, जुस, केक, लस्सी, वाइन तयार हुन्छ ।
ग्राहक रिसोर्टमै आएर मेनु हेर्दै आफ्नो रुची अनुसारका परिकार अर्डर गर्छन् ।
केसीका अनुसार अन्य खालका जंक फुडभन्दा फलफूलका परिकारले हानी गर्दैन । बरु फाइदा गर्छ । त्यो बुझेका मानिसहरू उनको रिसोर्टमा आउँछन् ।

सानो टिमले काम गरिरहेको हुँदा मासिक तलब खर्च ४० हजारजतिले पुग्छ । कारोबार मासिक ८० हजारदेखि एक डेढ लाख रुपैयाँसम्म हुने गरेको केसीले बताए ।
अरुजस्तै कोरोना महामारीको कहरबाट देउखुरी बनाना रिसोर्ट पनि अछुतो रहन सकेन । चार महिनाजति पूरै बन्द भयो ।
त्यतिबेला केसीले खेतबारीमा काम गरेर बिताए । मकै रोपे र त्यही गोडेर बसे। त्यो मेहनतले रिसोर्टलाई पुग्ने मकै उत्पादन गर्न सके ।
उनको रिसोर्ट अगाडि नेशनल एग्रो फार्म छ । त्यहीबाट उनले आवश्यक सम्पूर्ण कृषि उपकरण भाडामा लगेर काम गरेको बताए ।

यो बाहेक केसीले लमहीको राजपुरमा थप दस बिगाहा जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती पनि गर्दै आएका छन् । रिसोर्टका लागि आवश्यक पर्ने केरा उनले आफ्नै फार्मबाट उत्पादन गर्छन् ।
बुवाको मृत्यु भयो । भाइ सानै थिए । उनको कमलो काँधमा घर–व्यवहार चलाउने जिम्मेवारी आइलाग्यो । आमासँग सल्लाह लिँदै व्यापारमा हात बढाए । परिस्थितिसँग डटेर सामना गरे ।
‘अब त धेरै सहज भइसकेको छ,’ अविवाहित केसीले भने, ‘लगनशील भएर केही नयाँ ढंगले गरे रोजगारी गाउँघरमै सिर्जना गर्न सकिँदो रहेछ ।’
५–६ वर्ष पहिले त्रिचन्द्रमा बिएस्सी दोस्रो वर्षमा पढ्दापढ्दै उनी विदेश गए । सानैदेखि होटल लाइनमा केही गर्ने उनको चाहना थियो । त्यो रहर पूरा गर्न उनी दुबईको एटलान्टिक होटेलमा ट्रेनीको रुपमा काम गर्न पुगे । छ महिना काम सिके र अरु छ महिना त्यहीँ जागिर गरेर घर फर्किन पुग्ने पैसा जम्मा भएपछि घर फर्किए ।

रिसोर्टभित्रै उनले प्लाष्टिकको पोखरी निर्माण गरी माछा पनि पालेका छन् । अब निकट भविष्यमै त्यहीँभित्र पिकनिक स्पट बनाउने योजना रहेको उनले सुनाए ।
ती केराभित्र घुसुवा बाली रोपेका छन् । गाँजर पनि रोप्दैछन् । पछाडिको भागमा सानो भए पनि लोकल कुखुरा पाल्ने तयारी रहेको केसीले बताए ।
‘अब हामी लोकल कुखुरा र माछाका परिकार पनि दिने कि भन्ने सोचमा छौं,’ केसीले थपे, ‘रिसोर्टलाई आवश्यक पर्ने महत्वपूर्ण वस्तुहरू सामान्यतया यहीँ उत्पादन गर्न सकियोस् भन्ने सोचले काम भइहरेको छ ।’
आफ्नो उत्पादन अर्ग्यानिक हुने उनले दाबी गरे । भविष्यमा उनले बनेना चिप्स, वाइन र ब्राण्डी बजारमा बिक्री गर्ने सोचबनाएका छन् । (सेतोपाटी)
