
हेटौंडा, २० मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ ।
पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको ¥यालीले बजार परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा नाराबाजी गरिएको थियो ।

बजार परिक्रमापछि सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिबर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे ।
काङ्ग्रेस–कम्युनिस्टको गलत निति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारीले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे ।
पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए । राप्रपाको नेतृत्वमा असली परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले धारणा राखे ।
कार्यक्रममा केन्द्रीय सदस्य नबराज विष्ट, जिल्ला अध्यक्ष रामहरि न्यौपाने, युवा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए ।
पछिल्लो समय राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको बेला राप्रपा मकवानपुरले पार्टीको ब्यानर र झन्डामा कार्यक्रम आयोजना गरेको हो ।
अध्यक्ष कमल थापाले अब हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापनाको नेतृत्व राप्रपाले गर्ने धारणा सार्वजनिक गरेका छन् ।
अपराह्न ट्वीटरमार्फत थापाले हिन्दु राष्ट्र र राजसंस्थासँगै भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनविरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताएका हुन् । (सेतोपाटी)
