
चेन्नई, (एजेन्सी) १९ मंसिर – भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले बिहीबार नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।
उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने बताएका छन् । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी खोल्दै निर्वाचनमा जाने बताएका छन् ।

‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,’ उनले भने ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले धेरैसँग परामर्श गरेर पार्टी खोल्ने निर्णयमा पुगेको बताए ।
‘मैले पटक पटक विभिन्न व्यक्तिहरूसँग छलफलहरू गरेँ, उहाँहरूको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,’ उनले भनेका छन् । आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता देखिएको रजनीकान्तको भनाइ छ ।
तमिलनाडुमा सन् २०२१ को अप्रिल देखि मे सम्म विधान सभा निर्वाचन हुने तय भएको छ ।
