Thursday, May 28सत्यम खबर
Shadow

प्रधानमन्त्रीलाई देउवाको फोन– पौडेललाई किन पक्राउ गरेको, तत्काल छोड्नू

काठमाण्डौ, १७ मंसिर – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न भनेका छन् ।
बुधबार तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
पुल उद्घाटनको विषयलाई लिएर नेकपा र कांग्रेसबीच झडप हुन सक्ने भन्दै बुधबार बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।


दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल गएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पौडेल पक्राउ परेपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेका हुन् ।
‘वरिष्ठ नेतालाई पक्राउ गरेको विषयमा सभापतिज्यूले प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । उहाँलाई तत्काल रिहाइ गर्न सभापतिले प्रधानमन्त्रीलाई भन्नुभएको हो,’ देउवाको सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो, ‘जवाफमा प्रधानमन्त्रीले रिहाइ गरिन्छ भन्नुभएको छ ।’
सभापति देउवाले प्रधानमन्त्री ओलीसँग वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिनु पर्नाका कारणसमेत सोधेका थिए ।
तनहुँमा मंगलबार पनि पुल उद्घाटन कार्यक्रम विवादित बनेको थियो । आज पनि पौडेलले अर्को पुल उद्घाटन गर्न लागेपछि नेकपाले विरोध गरेको छ ।
पौडेललाई रिहाइ गर्न माग गर्दै तनहुँमा जिल्ला प्रहरी कार्यालयअगाडि कांग्रेस कार्यकर्ताले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
नेकपाका पाँच जना स्थानीय कार्यकर्तालाई पनि प्रहरी बुधबार दिउँसोदेखि नियन्त्रणमा राखेको छ ।
संघीय सरकारका बजेटबाट बनेका योजना प्रतिपक्षी दल कांग्रेसका नेताले उद्घाटन गर्दै हिँडेको भन्दै नेकपाले विरोध गरिरहेको छ ।
कांग्रेस नेता पौडेलले भने आफ्नो निर्वाचन क्षेत्रमा आफूले बजेट जोहो गरेको र शिलान्यास गरेका पुललगायत संरचनाको उद्घाटन् आफूले गर्नु स्वभाविक भएको तर्क गरेका छन् । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *