
काठमाण्डौ, १३ मंसिर – स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग मिल्नुको विकल्प नभएको बताउनु भएको छ ।

अब विवाद लम्बाउन नहुने दुई अध्यक्ष मिलेर समस्या समाधान गर्नुपर्ने पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगितगरी एकिकृत प्रतिवेदन बनाउनु पर्ने बताउनुभएको छ । उहाले सामाजिक संजालमा लेख्नु भएको छ – म फेरी पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगितगरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस् ।
नेता पोखरेलले प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरि एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध पनि गर्नुभएको छ ।
यसैवीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेश गर्नुहुनेछ ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत प्रस्ताव पेश गरेपछि नेकपा भित्रको विवाद चुलिदै गएको छ । यता प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर समेटेर प्रस्ताव तयार गरेको स्रोतले जनाएको छ ।
सर्वप्रथम दुबै पक्ष अध्यक्षको प्रस्तावलाई साझा प्रस्ताव बनाएर अघि बढ्ने र नभए बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी प्रचण्ड–माधव समूहको छ । गत कार्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्ध लान्छनायुक्त राजनीतिक प्रस्ताव ल्याएपछि नेता तथा कार्यकता समेत रुष्ट बनेका छन् । (जनता टाईम्स)
