
नेपालगन्ज, ७ भदौ – नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ । १९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सुचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी र कार्यकारी निर्देशक राकेशकुमार मिश्रले सूचनाको हक, यसको प्रयोग, फाईदा, सूचना उपलब्ध गराउने प्रक्रिया, सूचना व्यवस्थापन, माग गर्ने प्रक्रिया, स्वतः प्रकाशन, कारवाही तथा क्षतिपुर्तिको व्यवस्था लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले सूचनाको हकलाई पुर्ण रुपमा कार्यान्वयन गर्न वडा कार्यालयमा समेत सूचनाको व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकाले ऐन अनुसार प्रत्येक ३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचना नियमित रुपमा गर्दै आएको जानकारी गराउदै वडा कार्यालयले समेत सोको कार्यन्वयन गर्न सूचना अधिकारीलाई निर्देशन दिनुभयो । सूचनाको हकले सुशासन तथा पारदर्शीता बढाउने भएकाले कार्यालयका सम्पुर्ण कार्यक्रम तथा बजेट सेवाग्राहीलाई पारदर्शी रुपमा सूचना प्रवाह गर्ने उहाँले बताउनुभयो ।
सूचनाको हकका लागि राष्टिूय महासंघ लुम्विनी प्रदेश संयोजक हेमन्त कर्माचार्यले सूचनाको हक नागरिकका लागि महत्वपुर्ण हतियार भएकाले सुशासन र पारदर्शिताका लागि यसको प्रयोग तथा कार्यन्वयनमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी र कार्यपालिका सदस्य बसन्त कुमार कनोजियाले सूचनाको हकले सुशासन र लोकतन्त्रलाई बलियो बनाउने महत्वपुर्ण हतियार भएकाले यसको कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडा कार्यालयका सूचना अधिकारी, सूचना अभियन्ता, तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।