Tuesday, September 30सत्यम खबर
Shadow

कर्णाली बैंक घोटाला प्रकरण : ‘छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

नेपालगन्ज, २६ श्रावण – नेपालगन्ज स्थित प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम हिनामिना प्रकरणमा आफुमाथि मुद्दा चलाइएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रले असन्तुष्टि व्यक्त गरेका छन् ।

बैंकमा हिनामिना भएको आंशका लागेपछि आफुलगायत डा.ओम प्रकाश मिश्रले जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय बाँके र नेपाल राष्ट्र बैंकमा त्यसको छानबिनका लागि निवेदनसमेत दिएको भन्दै नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका मिश्रले उल्टै छानबिनको निवेदन दिनेमाथिनै मुद्दा चलाएको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने, ‘बैंकमा कहिँ नकहिँ घोटाला भएको छ, शंका मानेर म लगायत डा.ओम प्रकाश मिश्रले प्रहरी, प्रशासन र राष्ट्र बैंकमा अनुसन्धानका लागि निवेदन दियौं । उक्त निवेदनमाथि अनुसन्धान र छानबीन नै नगरी निवेदकमाथि नै मुद्दा चलाउनुले चित्त बुझेको छैन ।’

आफुले आन्तरिक छानबिनमार्फत १ सय ३३ करोड घोटाला भएको थाहा पाएपछि आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा लिखित जानकारी गराएको भन्दै पूर्वअध्यक्ष मिश्रले उक्त निवेदनलाई गहिराई पूर्वक नलिएर राष्ट्र बैंकले केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) मार्फत अनुसन्धान गराई निर्दोषमाथि मुद्दा चलाउनुले चित्त दुःखेको बताए ।

बैंक सञ्चालक समितिलाई नीतिगत निर्णय गर्ने अधिकार मात्र रहेको भन्दै उनले कर्जा प्रवाहका लागि बैकका कर्मचारीले रीतिपूर्वक पेश गरेको कागजातलाई दृष्टिगत गर्दै ऋण लगानी गर्ने निर्णय समितिले गर्दैआएको दाबी गरे ।

मिश्रले भने, ‘सञ्चालक समितिलाई नीतिगत निर्णय गर्ने अधिकार मात्र हुन्छ । त्यसको कार्यान्वयन गर्ने अधिकार सिइओ र अन्य कर्मचारीलाई हुन्छ । सम्बन्धित निकायले आफुमाथि झुठो मुद्दा लगाएर फसाउन खोजेको छ ।’

बैंक घोटाला प्रकरणमा आफ्नो र डा.मिश्रको रत्तिभर पनि संलग्नता नरहेको जिकिर गर्दै उनले आफु निर्दोष रहेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *