
नेपालगन्ज, १४ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ र १८ नं. वडाको बीचमा रहेको वाटरपार्क सामुन्नेको कि.नं. ३७३९ को जग्गालाई ५ वर्षको लागि प्रजुन गिरीले लक्ष्मण पोखरेलबाट मासिक २० हजारको दरमा भाडामा लिएका थिए । तर वाटरपार्कमा साझेदार पार्टनर बीच विवाद हुँदा सो ठाउँमा रेष्टुरेण्ट सञ्चालन गर्न नपाई जग्गा खाली राखिएको प्रजुन गिरीको भनाई रहेको छ ।
प्रजुन गिरीका अनुसार सो समयदेखि करीब १६ महिनाको भाडा मैले जग्गा धनीलाई मासिक २० हजारका दरले बुझाउँदै आएको छु तर सो जग्गामा हाल आएर बोटे बोरा प्रा.लि.का सञ्चालक बिष्णुबहादुर ढकालले आफ्नो मैनेजर मार्फत मासिक १५ हजारका दरले उठाउँदै आएको बताउँछन् ।
यसबारे बोटे बोरा प्रा.लि.द्वारा सञ्चालनमा रहेको वाटर पार्कमा कार्यरत मैनेजर जय रिजालले भन्नुभयो– ‘हामीले करीब ५–६ महिनादेखि खाली जग्गामा नास्ता गर्ने ठेलावालाहरुबाट पैसा उठाएको तथा सो पैसा बोटे बोरा प्रा.लि.को खातामा जम्मा गरेको बताए ।’
त्यति मात्र नभई वाटरपार्कमा मनोरञ्जन गर्न पुगेका सेवाहरुको फोटो सेवा उपलब्ध गराउने क्यामरा मैनहरुबाट समेत मासिक १० हजारको दरले पैसा पठाउँदै आएको आरोप लगाईएको छ ।
यसबारे त्यहाँ रहेका आधा दर्जन क्यामरामैनहरुको भनाई समेत फरक फरक रहेको पाईन्छ । कसैले मासिक रकम दिईरहेको भनाई राखेका छन् भने कसैले पैसा माग पनि नदिएको भनाई राखेका छन् ।
आफ्नो प्रतिकृया दिंदै लिजमा जग्गा लिएका गिरीले सो जग्गाबाट उठाईएको २ लाख २५ हजार रुपैया असुल गर्न कानुनी बाटो अवलम्बन गरिने बताएका छन् ।