
नेपालगन्ज, ७ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम तथा नीतिमा पालिका भित्र रहेको ताल, तलैयाहरुलाई संरक्षण सम्वद्र्धन गर्ने योजनाहरु विगतमा कागजी रुपमा मात्र अगाडी सारेको पाईन्छ । तर उक्त नीतिलाई कार्यान्वयन सम्बन्धित पालिकाले नै गरेपछि स्थानियहरु आक्रोशित भएका छन् । वास्तविकता यो छ कि हाल कान्तिताल, फुल्टेक्रा ताल, रानी तलाऊ, धोबी ताल, रामनगर स्थित ताल लगायत पालिका भित्र रहेका तालहरुको अवस्था जिर्ण हुनुका साथै कब्जा नीतिमा परिणत भएको पाईन्छ ।
सोही कब्जा नीति अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा रहेको प्रसिद्ध धोबी ताललाई सम्बन्धित वडाबाट नै कब्जा गर्न फोहोर फाल्न शुरुवात गरिएको स्थानीयहरुको आरोप रहेको छ ।
हाल नेपालगन्ज उपमहानगरपालिका—८ स्थित रहेको प्रसिद्ध धोवी तालमा उपमहानगरले फोहोर फाल्ने क्रम जारी राखेपछि त्यस क्षेत्रको वातावरण नै दुर्गन्धित भएको स्थानीयहरुको गुनासो रहेको छ । धोबी तालको विशेषता बारे जानकारी गराउँदै स्थानीयहरुले दशकौं यस क्षेत्रका बरेठाहरुले लत्ता कपडा धुनुका साथै जनावरहरुलाई पर्याप्त पानी वर्ष भरी नै पुग्ने गरेको थियो । तर सम्बन्धित पक्षको लापरवाहीले गर्दा हाल ताल सुख्खा भएको बताउँछन् ।
उपमहानगरले फोहोर थुपारेका कारण आसपासको क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ । तलाउमा फालेको फोहोरले घर भित्रसमेत बस्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय थोक आलू व्यापारीको गुनासो रहेको छ ।
पूर्व वडाध्यक्ष सुरेन्द्र गुप्ताका अनुसार दशकौंदेखि यस तालमा दाहसंस्कार पछि क्रियापुत्री बस्ने, मन्दिर र पिपलको पूजा गर्ने, तालको छेउमा कपाल खौरिने, धोबीहरुले लुगा धुने तथा तालमा स्नान गर्दै आएका थिए । पूर्व वडाअध्यक्ष गुप्ताले तालको सौन्दर्यकरण गर्ने प्रयास गरे पनि विवादका कारण सफल हुन नसकेको बताए । उनले फोहोरले तलाउ पुर्ने कार्य सरासर गलत भएको बताए । ‘तालको आफ्नै महत्व र इतिहास छ । तालको सौन्दर्यकरण गर्न माग गर्दै उनले इतिहास मेट्ने काम गर्न नहुने स्पष्ट पारेका छन् । तलाउ पुर्ने काम कुनै पनि हालतमा सुहाउँदो छैन,’ उनले भने ।
यसबारे वरिष्ठ पत्रकार अजय गुप्ताले भने– यो ताल धेरै पुरानो हो, यहाँ पहिले पुजाआजा हुने गरेको थियो । यसलाई संरक्षण गर्ने उद्देश्यका साथ हामीले यसमा पत्रकार महासंघको भवन निर्माण गर्न पहल गर्दा विरोध भएपछि हामी पछाडी सरेका थियौं ।
उहाँले हाल उपमहानगरपालिकाले नीतिमा राख्ने तर संरक्षणमा ध्यान नदिने भएको हुँदा यसलाई दुर्भाग्य नै मान्नु पर्छ । यसको संरक्षण हुन सके यस क्षेत्रका स्थानीयहरुलाई जुन पानीको समस्या आउने गरेको छ, त्यो हुने थिएन । यसतर्फ सम्बन्धित पक्षको ध्यान जानु आवश्यक रहेको बताउनु भयो ।