
धर्म प्रकाश जायसवाल
नेपालगन्ज, ३ माघ – माघ १ गते राप्ती सोनारी गाउँपालिका वडा नं. ७ मा भएको घटनामा मृतक परिवार तथा गाड़ी धनी बिच क्षतिपुर्ती बिषयमा कुरा नमिले पछि पीडित पक्ष यतिबेला आन्दाेलनमा उत्रिएका छन् ।
१ गते राती राप्ती सोनारी ७ मा बसको ठक्करबाट २ जनाको ज्यान गएपछि २ गते मृतक परिवारका आफन्तसहित दिन भर जिल्ला प्रहरी कार्यालयमा छलफल बस्दा क्षतिपुर्तीको बिषयमा कुरा नमिलेपछि पीडित पक्षले यतिबेला सयौंको संख्यामा जम्मा भएर राप्ती सोनारी ६ कुण्डा चोकमा चक्काजाम गरेका छन् । उनीहरुले सडकमा टायर बालेर, मुडा तेर्स्याएर क्षतिपुर्तीका लागी आन्दोलन गरिरहेका हुन ।
नेपालगन्जबाट नरैनापुर, सुईया बघौडा, जाने आउने, नेपालगन्जबाट बैजापुर अगैया आउने जाने सम्पुर्ण सवारी साधन अहिले रोकिएका छन् । उनीहरुले एकै घरका २ जनाको ज्यान गएको बिषयमा राधा कृष्ण बस समिति र बस धनिले वेवास्ता गरेको आरोप समेत लगाएका छन् ।
१ गते राती नरैनापुरबाट आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरित दिशाबाट गईरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाईकललाई राधा कृष्ण मन्दिर नजिकै ठक्कर दिंदा मोटरसाईकलमा सवार स्थानीय सर्रा गाउँका २६ बर्षिय दिलबहादुर थारु र उनका भतिजा २५ बर्षिय राजेश थारुको ज्यान गए थियो ।
मृतक द्धयका एकजनाको श्रीमती गर्भवती र एकजनाको १ बर्षीय छोरी रहेका छन् । पीडित परिवारले बच्चाको लालन पालनका लागी थप क्षतिपुर्ती माग दावी गरेका छन् । परिवारले अहिलेसम्म शव वुझ्न मानेका छैनन् भने नेपालगन्ज बैजापुर सड़क खण्ड पूर्ण रुपमा बन्द रहेको छ ।