
नेपालगन्ज, २७ कार्तिक – सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा दिने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यस वर्ष पनि संस्थाले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्न लागेको हो ।
समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गर्ने आइएचआरसी संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनु भयो । उहाँका अनुसार १६ दिने अभियानमा विशेष गरि महिलाको कानूनी अधिकारसंग जोडिएकाले उनीहरुको सवालमा पैरवी र सामाजिक सेवाको भावनाले उक्त सेवा प्रदान गरिने छ ।
संस्थाले विगत लामो समयदेखि समुदायका गरिब विपन्न, तथा अल्पसंख्यक समुदायका नागरिकहरुको कानूनी प्रक्रिया अन्तर्गत, निवेदन, जाहेरी, प्रतिउत्तर मुद्दा लगायतको सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो । यही मसिंर १० गतेदेखि मसिंर २५ गतेसम्म दिवस मनाइनेछ ।
संस्थाले कानूनको क्षेत्रमा विशेष काम गरिरहेकाले कानूनसंग सम्वन्धित विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ । संस्थाले कानूनी परामर्शसंगै अन्य सरोकारवाला निकायसंगको समन्वयमा सचेतनामुलक अभियान पनि सञ्चालन गर्नेछ । यस वर्ष महिला हिंसा विरुद्धको १६ दिने अभियानमा राष्ट्रिय नारा ‘हाम्रो हक, हाम्रो अधिकार, हिंसा विरुद्धको संघर्ष !’ तय गरिएको छ ।
संस्थाले समुदायस्तरमा पारलिगलमार्फत कानूनी सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ । स्थानीयलाई कानूनको बारेमा सचेतना, उनीहरुको स्थानीय सरकारमा पहुँच, सरोकारवाला निकायहरु जस्तै अदालत, प्रहरी, प्रशासन लगायतमा स्थानमा जान सहजीकरण गरिरहेको संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो ।