Thursday, March 12सत्यम खबर
Shadow

अपरेसन गरेर बच्चा निकाल्ने तयारी गर्दैगर्दा गयो गीताको ज्यान

बुटवल, १४ कार्तिक – सुत्केरी बेथा लागेर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।
सुत्केरी बेथा लागेर भर्ना भएकी गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ गर्भको शिशुसहित मृत्यु भएको हो । उनी सुत्केरी बेथा लागेर बिहीबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् ।


मृतक गीताका देवर युद्ध पुरीले अस्पतालको लापरबाहीले भाउजू र बच्चा दुवैको ज्यान गएको बताए । अस्पताल भर्ना भएपछि चेक गर्दा नर्मल डेलिभरी हुन्छ भनिए पनि पछि एकाएक आमा र बच्चाको ज्यान गएको उनले बताए ।
पुरीका अनुसार चिकित्सकले दिउँसो ४ बजे चेक गर्दा बच्चा र आमा दुवैको अवस्था सामान्य रहेको बताए पनि साँझ ७ बजे पेटभित्रै बच्चाको मृत्यु भएको बताएका थिए । त्यसको २ घण्टापछि आमाको पनि मृत्यु भएको चिकित्सकले आफन्तलाई जानकारी गराएका थिए ।
मृतक गीताले डा. अनुपा थापासँग नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन् । चिकित्सकले गीतालाई कार्तिक ८ गते सुत्केरी हुने मिति तोके पनि चिकित्सक कै सल्लाह बमोजिम १३ गते अस्पतालमा भर्ना भएको आफन्तले बताएका छन् ।
यसबीचमा पनि गीता चिकित्सक थापासँग नियमित सम्पर्कमा रहेको परिवारले बताए । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले महिलालाइ सुत्केरी बेथा लगाउने औषधि दिएको नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताए । तर ५ बजेपछि महिलामा अचानक श्वासप्रश्वासमा समस्या देखिएको र अपरेसन गरेर बच्चा निकाल्ने तयारी गर्दैगर्दा मृत्यु भएको उनले बताए ।
तर मृतकका आफन्तले भने अस्पताल भर्ना भएपछि आमा र बच्चा दुवैको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको आरोप लगाएका छन् । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।
अहिले मृतकको शव अस्पतालभित्रै छ । मृतकका आफन्तले शुक्रबार बिहान अस्पतालमा केहीबेर प्रदर्शन समेत गरेका थिए ।
अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच अस्पतालमा छलफल चलिरहेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नेत्र रानाले भने, ‘अस्पतालमा जुन घटना भयो त्यो दुःखद हो । अहिले घटनाबारे मृतकका आफन्तसँग छलफल चलिरहेको छ ।’ (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *