Thursday, March 20सत्यम खबर
Shadow

विश्व साहित्य सम्मेलनमा छायो बाँके जिल्ला

नेपालगन्ज, ११ कार्तिक – “नेपाली साहित्यको विश्वव्यापीकरण हाम्रो अभियान” भन्ने मूल मर्मका साथ काठमाडौँको गौशालास्थित होटल आनन्द पशुपतिको सभाहलमा सञ्चालित तेस्रो बृहत् साहित्यिक विश्व सम्मेलन–२०८१ मा बाँकेका तीन स्रष्टा सम्मानित भएका छन् ।

विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको अध्यक्षता तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विश्वका १४ जना साहित्य साधकहरू सम्मानित हुँदा बाँके जिल्लामा रहेर भाषा साहित्य र समालोचनामा साधना गर्ने साधक श्रष्टाहरु प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरे, कल्पना पौडेल “जिज्ञासु” र लेकप्रसाद प्याकुरेल सम्मानित हुनु भएको हो ।

सम्मानित व्यक्तित्वहरू मध्ये प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरेलाई नेपाली साहित्यदूत मकालु २०८० सम्मानले विभूषित गरियो । कल्पना पौडेल “जिज्ञासु” विनेसाम उत्कृष्ट शाखा अध्यक्ष सम्मानद्वारा सम्मानित हुनु भयो भने समालोचक लेकप्रसाद प्याकुरेल नेपाल भित्र रहेका प्रदेशहरूबाट उत्कृष्ट प्रदेश अध्यक्ष सम्मानद्वारा सम्मानित हुनु भएको हो ।
भारत, थाइल्याण्ड, जापान, चीन, रसिया लगायत विश्वका दुई दर्जन बढी देशहरूका अग्र साहित्यकारहरूको सहभागिता रहेको उक्त तेस्रो बृहत् साहित्यिक विश्व सम्मेलनमा १४ वटा नेपाली भाषा साहित्य सम्बन्धी कृतिहरूको विमोचन गरिएको थियो । सो मध्ये बाँके जिल्लाका चार वटा कृति विमोचन भएका छन् ।

सोही अवसरमा प्रमुख अतिथि समेत रहेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकेका कल्पना पौडेल “जिज्ञासु”को कल्प ध्वनि लघुकथा संग्रह, लेकप्रसाद प्याकुरेलको बाँकेका महिला स्रष्टा र सिर्जना समालोचना सङ्ग्रह, गीता अर्यालको विषाक्त समय मुक्तक संग्रह, इन्दिरा गौतमको इन्दु कवितासंग्रह, विनेसाम नेपाल शाखाद्वारा तयार पारिएको नेपाल दर्पण, विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश समितिद्वारा प्रकाशित भएको लुम्बिनी दर्पण र विनेसाम कर्णाली प्रदेशद्वारा प्रकाशित भएको कर्णाली दर्पण लगायत एक दर्जन बढी कृतिहरूको विमोचन गर्नु भएको थियो । भारत सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङ प्राध्यापक डाक्टर गोविन्दप्रसाद भट्टराई, आयामेली कवि बैरागी काइँला लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त सम्मेलनको सञ्चालन नेपाल शाखाकी महासचिव सुनिता राई कन्दङवाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *