
नेपालगन्ज, १४ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भई २६ महिला र ४८ पुरुष गरी आज शुक्रबार ७४ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।

आज घर फर्किनेहरु कार्तिक ४ गते आईसोलेसन भर्ना भएका थिए । कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज शुक्रबार संक्रमण मुक्त भएका ७४ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या २ हजार ७ सय ८३ पुगेको बताउनुभयो ।

शुक्रबारसम्म बाँकेका २ हजार ७ सय ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म बाँकेमा कोरोना संक्रमितहरु ३ हजार ७७ जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ९०.५४ प्रतिशत रहेको छ । मृत्यु दर ०.९७ रहेको छ भने रोग प्रकोप दर ०.५१ प्रतिशत रहेको बताउनुभयो ।
जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ७७ पुग्दा मृत्यु हुनेको संख्या ३० रहेको छ भने २ सय ७६ जनाको विभिन्न आईसोलेशन सेन्टरमा उपचार भईरहेको छ ।

