Tuesday, October 22सत्यम खबर
Shadow

लेबननमा सैन्य कारबाही रोक्न अमेरिकासामु इसराइलले राखेका दुई सर्त

काठमाण्डौ, ५ कार्तिक – इसराइलले पछिल्लो केही सातादेखि हिजबुल्लाहविरूद्ध लेबननमा गरिरहेको सैन्य कारबाही कूटनीतिक माध्यमबाट रोक्न अमेरिकासामु आफ्ना सर्तहरू राखेको छ।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले इसराइल र लेबननको सीमावर्ती इलाकामा दुवै देशका आ-आफ्ना नागरिक फर्किने वातावरण बनाउन भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष सर्तहरू सहितको दस्तावेज बिहीवार दिएको भनेर एक्सियस अनलाइनले खुलासा गरेको छ।

इसराइलले ती सर्तहरू रक्षा मन्त्रालय तथा सेनासँग छलफल गरेर राखेको बताइएको छ। एक्सियसले लेखेको समाचारमा नाम नखुलाइएका दुई अमेरिकी र दुई इसराइली अधिकारीलाई उदृत गरेको छ।

एक्सियसले लेखेअनुसार इसराइलले आफ्नो उत्तरी सीमा पारीको दक्षिणी लेबननमा हिजबुल्लाहले फेरि संरचना नबनाओस् भनेर इसराइली सेनाले पछि पनि कारबाही गर्न पाउनु पर्ने सर्त राखेको छ।

त्यस्तै आफ्नो वायु सेनाले लेबननको आकाश प्रयोग गर्न पाउनुपर्ने सर्त पनि उक्त दस्तावेजमा उल्लेख छ।

यी दुबै सर्त संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव १७०१ को खिलाफ भएकाले अमेरिकाले मान्न मुस्किल पर्नेछ। सो प्रस्ताव इसराइल र हिजबुल्लाह बीच सन् २००६को युद्ध रोक्न ल्याइएको थियो।

हिजबुल्लाहले सन् २००६ मा इसराइलभित्र पसेर केही इसराइली सैनिक मार्‍यो र केहीलाई अपहरण गरेर लेबनन लग्यो। त्यसपछि इसराइलले लेबननमा सेना पठाएर आक्रमण गर्‍यो। धेरै सर्वसाधारण मारिए भने हिजबुल्लाहले पनि ठूलो क्षति बेहोर्‍यो। तर इसराइलले हिजबुल्लाहलाई निमिट्यान्न पार्न सकेन।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव १७०१ का आधारमा सो युद्ध अन्ततःरोकियो।

सो सहमति अनुसार इसराइली सेना लेबननबाट फर्किए भने इसराइली सीमाबाट करिब २९ किलोमिटर उत्तरमा रहेको लिटानी नदी कटेर दक्षिणतिर हिजबुल्लाह लडाकू आउन नपाउने भए। सो ‘बफर जोन’ मा संयुक्त राष्ट्र संघको शान्ति सेना र लेबननको राष्ट्रिय सेनाले मात्रै हतियार राख्न पाउने भयो।

हिजबुल्लाहले लिटानी नदी पार गरेर इसराइलको सीमाना छेउमै सैन्य संरचना बनाएको औंल्याउँदै इसराइलले प्रस्ताव १७०१को पालना नभएको बताउँदै आएको छ। संयुक्त राष्ट्र संघको शान्ति सेनाले आफ्नो शिविर छेवैमा हिजबुल्लाहलाई बंकर र सुरूङहरू बनाउन दिएको भन्दै आएको छ।

त्यसैले फेरि पनि हिजबुल्लाहले त्यहाँ त्यस्ता संरचना नबनाओस् र अन्ततिर पनि फेरि शक्ति आर्जन गरेर बलियो नबनोस् भनेर इसराइलले आफ्नो जारी कारवाही रोक्न ती सर्तहरू राखेको मानिन्छ।

इसराइलले पछिल्ला केही हप्तामा हिजबुल्लाह माथिको प्रहार तीब्र पारेको छ।

हिजबुल्लाह सदस्यले बोकेका पेजर एकैपटक विस्फोट गराउँदै इसराइलले पछिल्लो शृंखला सेप्टेम्बर १७ मा सुरू गरेको थियो। अमेरिकी अनलाइन ‘एक्सियस’ का अनुसार इसराइलले पेजर विस्फोट त्यति बेला गर्न चाहेको थिएन। आफूले पेजरमा विस्फोटक पदार्थ लुकाएको हिजबुल्लाहले थाहा पाउन सक्ने ठानेर त्यत्रो मिहिनेत खेर नजाओस् भनेर मात्रै इसराइलले विस्फोट त्यसै दिन गराएको भनिन्छ। विस्फोट गराउने भएपछि भने हिजबुल्लाहले त्यसको जबाफ दिन नसकोस् भनेर रन्थनिएको बेलामा लगातार प्रहार गर्न थाल्यो।

हिजबुल्लाह सदस्यले बोकेका पेजर विस्फोट गराउँदै गर्दा नै इसराइलले लेबननको सीमातर्फ ठूलो संख्यामा सैनिक परिचालन गरेको थियो। रक्षा अधिकारीहरूले युद्धको अबको केन्द्रविन्दु गजा नभएर लेबननसँगको सीमा हुने बताएका थिए।

इसराइली प्रधानमन्त्री नेतन्याहुले समेत हिजबुल्लाहको लगातार हमलाका कारण लेबननसँगको सीमा क्षेत्रबाट विस्थापित ६० हजारभन्दा बढी इसराइली नागरिकलाई घर फर्किने वातावरण बनाउनु उनको प्रमुख उद्देश्य भएको बताएका थिए। इसराइलले त्यसको भोलिपल्ट हिजबुल्लाह सदस्यले बोकेका वाकीटकी त्यसरी नै विस्फोट गरायो।

पेजर र वाकीटकी विस्फोट गराएर हिजबुल्लाहको सञ्चार प्रणाली तहसनहस पारेको मौका छोपेर इसराइलले लगातार प्रहार गर्‍यो। पेजर विस्फोट गराएको तीन दिनपछि बेरूतको एक घरमा बैठक गरिरहँदा मिसाइल आक्रमण गरेर हिजबुल्लाहका कमान्डर अकिब इब्राहिम अकिल र अहमद वाहबीलाई मार्‍यो। सञ्चार प्रणाली इसराइलले ह्याक गरेको ठानेर बैठक गरिरहेका हिजबुल्लाहको स्पेसल फोर्स राडवान युनिटका ती कमान्डरहरू मारिएका थिए।

त्यसपछि इसराइलले हिजबुल्लाहभित्र व्यापक घुसपैठ गरेकाले बैठकहरू पनि सुरक्षित हुन छाडे। अकिल र वाहबी मारिएको एक सातापछि सेप्टेम्बर २७ मा हमास प्रमुख नसरल्लाह र बाँकी रहेका कैयौं वरिष्ठ नेता र कमान्डर पनि त्यसरी नै बैठक गरिरहँदा इसराइली हमलामा मारिए।

नसरल्लाह मारिएको बैठकमा कारणवश अनुपस्थित भएर जोगिएका वरिष्ठ नेता हशिम सफिइद्दिनलाई पनि इसराइलले मारिसकेको अपुष्ट समाचार आएका छन्। नसरल्लाहका भाइ सफिइद्दिन (उनीहरूका आमाहरू दिदी-बहिनी हुन्) हिजबुल्लाहका नयाँ प्रमुख हुने अपेक्षा गरिएको थियो।

त्यसपछि पनि इसराइलले लगातार हिजबुल्लाह लक्षित भन्दै लेबननमा लगातार प्रहार गरिरहेको छ। हिजो मात्रै बेरूतमा रहेका हिजबुल्लाहका वित्तीय संरचनामा व्यापक बमबारी गर्‍यो।

इसराइली सैन्य कारवाहीका कारण लाखौं लेबननी नागरिक विस्थापित र घरबारबिहीन भएका छन्। इसराइली सैन्य कारबाहीका कारण लेबननमा आएको मानवीय संकट रोक्नका लागि इसराइल र उसको मुख्य समर्थक अमेरिकामाथि व्यापक दवाब छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको) सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *