
नेपालगन्ज, ३ कार्तिक – बाँकेको डुडुवा गाउँपालिका–६ मा दुई सय २० जनाको आँखा जाँच भएको छ ।
भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन नेपालगन्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र एक सय ३० जना महिला गरेर कुल दुई सय २० जना बिरामीको आँखा जाँच गरिएको हो ।
कात्तिक १ र २ गते हिरमिनिया स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ४७ जनालाई मोतिया बिन्दको समस्या देखिएको कार्यक्रम संयोजक बृजेश मिश्रले जानकारी गराए । उनका अनुसार यो संख्यामा २७ जना पुरुष र २० जना महिला रहेका छन् ।
शिविरमा परिचालित स्वास्थ्यकर्मीका अनुसार सबैभन्दा बढी मोतिया बिन्दको समस्या देखिएको छ । अन्य बढी जसो सामान्य समस्या भएको बिरामीले सेवा लिएका थिए ।
कार्यक्रम संयोजक मिश्रका अनुसार डुडुवा गाउँपालिकाका विभिन्न स्थानमा नियमित रुपमा १४ गते सम्म कार्यक्रम सञ्चालन हुनेछ ।
आँखाको समस्या भएकालाई सम्बन्धित औषधि शिविर मै पाउने र चश्मा पनि सहुलियत मुल्यमा पाउने व्यवस्था गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले जानकारी गराए ।
उनले आँखाको अप्रेशन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने तरिकाले सहकार्य भएको बताए ।
यस्तै, कात्तिक ४ गते अस्थाई स्वास्थ्य केन्द्र दलैपुर र कात्तिक ५ गते डुडुवा ५ कम्दी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने तयारी छ ।
शिविर बिहान साढे १० बजे देखि ३ बजे सम्म भईरहेको छ ।